बल्ल फिल्ममा मौका पाइन् सुपुष्पाले, आफ्नै श्रीमान्ले लगानी गरेको ‘फेरि रेशम फिलिली’मा
काठमाडौं : फिल्म ‘रणवीर’बाट डेब्यु गरेकी सुपुष्पा भट्टलाई दर्शकले बिर्सिसके। उनले अभिनय गरेका फिल्म ‘रणवीर’पछि ‘चपली हाइट ३’,‘छक्का पञ्जा’सम्म आइपुग्दा उनको चर्चा चुलिएको थियो। निकै म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन्। दर्शकमाझ परिचित हुँदै गर्दा अचानक फिल्म निर्माता रौनक विक्रम कँडेलसँग विवाह बन्धनमा बाँधिइन्। तीन वर्षअघि वैशाखमा विवाह बन्धनमा बाँधिएपछि उनी गुमनाम जस्तै भइन्।
केही म्युजिक भिडियोमा त काम गरिन् तर चल्न सकिनन्। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’को एउटा गीतमा नाचिन्। तर उनलाई त्यो गीतले खासै अगाडि बढाउन सकेनन्। निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायतको टिममा नाचेकी सुपुष्पालाई दर्शकले नोटिसमा लिनै सकेनन्।
निराश बनेकी सुपुष्पाले सामाजिक सञ्जालमा कविता लेखेर आफ्नो भावना समेत पोखेकी थिइन्। आफ्नै श्रीमान रौनक विक्रम कँडेलले बनाएको फिल्ममा समेत नअटेकी भन्दै सामाजिक सञ्जालदेखि समाचारका गसिप समेत बने। कतिले विवाहपछि धेरै अभिनेत्रीहरू अभिनय यात्राबाट टाढिन्छन् भन्ने टिप्पणी गरे।
तर, उनले सबैको आँकलनलाई फेल खुवाउँदै आफ्नै श्रीमान निर्माता रहेको फिल्म ‘फेरि रेशम फिलिली’मार्फत फर्किएकी छन्। विवाह बन्धनमा बाँधिएपछि ३ वर्षपछि उनी अभिनयमा फर्किन लागेकी हुन्।
फिल्म ‘दिमाग खराब’का निर्देशन तथा निर्माता छोडेर निर्माता कँडेलले या नयाँ टिमलाई फिल्ममा भित्र्याएका छन्। अति मिलनसार रहेका निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई छाडेर उनले निरोज महर्जनलाई निर्देशनमा लिएर छन्। निरोज महर्जनको निर्देशनमा बनेको फिल्म ‘फेरि रेशम फिलिली’मा केही कलाकार समेत परिवर्तन भएका छन्।
दश वर्षअघिको फिल्म ‘रेशम फिलिली’लाई निर्माता कँडेलले फिल्मको नाम अगाडि फेरि थपेका छन्। उनले फिल्मका मुख्य कलाकार समेत परिवर्तन गरेका छन्। पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान रहेका थिए। अहिले मेनुकाको ठाउँमा सुपुष्पाले अभिनय गरेकी छन्। यि दुई बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया दोहोरिएका छन्।
यो फिल्म लगानीमा निर्माता कँडेललाई सुरज बम ठकुरी र एनी थापाले सघाएका छन्।
मंसिर २०, २०८१ बिहीबार २०:५५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।