माघमा आउने तयारी गरेको ‘मिसिङः केटी हराएको सूचना’ ले फिल्मप्रतिको चासो कसरी फर्काउला !

माघमा आउने तयारी गरेको ‘मिसिङः केटी हराएको सूचना’ ले फिल्मप्रतिको चासो कसरी फर्काउला !

काठमाडौँ : गत कार्तिक ३० गतेको प्रदर्शन मिति तोकेर प्रचारमा आक्रामक बने पनि एकाएक फिल्म ‘मिसिङः केटी हराएको सूचना’ ले प्रदर्शन स्थगित गर्यो। कारण देखायो पूर्णबहादुरको सारङ्गीको क्रेज।

हलका सोहरू एकछत्र पूर्णबहादुरको सारङ्गीले कब्जा हानेको थियो। त्यसमा अर्को फिल्म ह्रस्व दीर्घ पनि त्यही मितिमा रिलिज हुने भएपछि निर्माण टिम ब्याक भयो। प्रचारले एक खालको माहौल बनिसकेको अवस्थामा फिल्म ब्याक भयो।

निर्माण टिमले बिहीबार फिल्म रिलिजको नयाँ मिति सार्वजनिक गर्यो- माघ ११। फिल्मले दर्शकमाझ एक खालको चासो निर्माण गरेको अवस्थामा रिलिज मिति सार्दा दर्शकको ध्यान अन्य फिल्ममा सर्नु सामान्य हो।

यो बिचमा पूर्णबहादुरको सारङ्गीसँगै ह्रस्व दीर्घ अनि तेल भिसा रिलिज भए। पूर्णबहादुरको सारङ्गीले त नेपाली फिल्मको व्यापारदेखि धेरै रेकर्डहरू ब्रेक गर्यो। लगानी उठ्ने, नउठ्ने एउटा कुरा, नेपाली फिल्महरूले हलमा गर्ने व्यापारको आँकडा हेर्ने हो भने ह्रस्व दीर्घले पनि दर्शकको साथ पाएकै हो। तेल भिसाले अनपेक्षित सकारात्मक प्रतिक्रिया पायो।

यो आधारमा हेर्दा अहिले नेपाली फिल्मको सफलताको ग्राफ निरन्तर उकालो लागिरहेको बेलामा फिल्म मिसिङ : केटी हराएको सूचनाले पनि दर्शकको साथ पाउन पनि सक्छ। तर त्यसका लागि पून प्रचारमा निर्माण टिमले थप मिहेनत गर्नुपर्ने देखिन्छ।

नाजिर हुसेन अनि सृष्टि श्रेष्ठका फ्यानहरूलाई आकर्षित गर्नुपर्ने चुनौती छ नै ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको कमब्याकका कथा पहिलो प्रचारमै सकिएकाले दोस्रो चरणमा त्यसैले क्रेज निर्माण गर्न कठिन हुने देखिन्छ।

क्युएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा दीपेन्द्र गौचनको कथा र लेखन रहेकाले फिल्मले एक खालको अपेक्षा भने निर्माण गरेको छ।

मंसिर २०, २०८१ बिहीबार २०:४९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।