औषधी खरिदमा भ्रष्टाचार भएको भन्दै धनगढीमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाले औषधि खरिदमा भ्रष्टाचार गरेको भन्दै ५ जनाविरूद्ध मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार विशेष अदालतमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टी प्रपोज प्रालि मैतीदेवीका प्रबन्धन निर्देशक माधवप्रसाद गौतमलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधी खरिदमा भ्रष्टाचार भएको अख्तियारको दाबी छ।
नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधीहरू प्रचलित मूल्य भन्दा बढी मूल्य राखी खरिद गरेका उनीहरूले ४ लाख ६० हजार ८१० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।
प्रतिवादीहरु सबैलाई जनही ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो मागदाबी गरिएको छ।
मंसिर २०, २०८१ बिहीबार २०:०३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।