रवि लामिछाने : ४७ दिनमा बयानका लागि ४ जिल्ला पुगे, हस्ताक्षरसहितको चेक भेटिँदा पनि अस्विकार गरिरहे

रवि लामिछाने : ४७ दिनमा बयानका लागि ४ जिल्ला पुगे, हस्ताक्षरसहितको चेक भेटिँदा पनि अस्विकार गरिरहे

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अहिलेसम्म बयानका लागिमात्रै चार वटा जिल्ला पुगिसकेका छन्। कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका रविले यो ४७ दिनमा चार जिल्ला पुगेर बयान दिनेक्रम अझै सकिएको छैन। अहिले उनी कास्कीमा छन्। 

साहारा चितवन सहकारीको रकम हिनामिनामा संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका रविलाई बयानका लागि मंगलबार बिहान चितवन पुर्याइएको थियो। त्यसपछि चितवनमा २ दिनसम्म बयान सकेर राति नै स्थलमार्ग हुँदै रविलाई बिहान साढे ३ बजे कास्की प्रहरी कार्यालयमा पुर्याइएको हो।

काठमाडौंबाट पक्राउ पर्नासाथ पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविलाई त्यही रात स्थलमार्गबाट पोखरा पुर्याइयो। कास्की प्रहरीको हिरासतमा राखेर त्यहाँ केही समय उनलाई बयान लिइयो। तर, रविले भने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफ्नोको संलग्नता अस्वीकार गरे।

त्यसपछि रविलाई कार्तिक २७ मा बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनको आरोपमा बयानका लागि उनलाई पोखराबाट बुद्ध एयरको जहाजमा रूपन्देही पुर्याइएको थियो। त्यहाँ पनि बयान दिनेक्रममा रविले आफू निर्दोष रहेको नै दोहोर्याए। जबकि सुप्रिमबाट गोर्खा मिडियाका नाममा २ करोड ऋण प्रवाह भएको छ। 

सुप्रिमबाट रवि र जीवी राईसमेतबाट १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

रूपन्देहीपछि कास्की नै फिर्ता भएका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि काठमाडौं ल्याइयो। बयानका क्रममा रविले फेरिपनि आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरे। स्वर्णलक्ष्मीको बयानपछि रविलाई फेरि कास्की नै फिर्ता पठाइयो। 

साहारा चितवन सहकारी ठगी प्रकरणमा रविलाई काठमाडौंबाट बयानका लागि मंगलबार चितवन लगिएको थियो। त्यसपछि रविसँग लगभग १५ घण्टा बयान लिइयो। रविसँग लगभग ७५ बढी प्रश्न गरिएको थियो। उनले ती प्रश्नहरूको जवाफ बुधबार बेलुकी ८ बजे सकाए। चितवनसहित रविले बयानका लागिमात्रै चार जिल्ला धाइसकेका छन्। 

अहिले फेरि रविविरूद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ। वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि र छविसहित १४ जनाविरूद्ध  बुधबार पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए। यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन्। तर, रवि गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा त्यस सहकारीबाट आएको रकम खर्च गरेको आरोपमा उनी अनुसन्धानको दायरामा तानिए।

सुरूमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो।

सरकारी पक्षले अदालतमा रविको हस्ताक्षरसहितको चेक सहकारीलाई बुझाएको लगायतका महत्वपूर्ण प्रमाणहरू फेला परेको र सहकारीको रकम अपचलनबारे थप प्रमाण सङ्कलनको चरणमै रहेको जिकिर गर्दै प्रहरीले उनीमाथि अनुसन्धान लम्बिएको बताइएको छ। तर, रास्वपाले भने नियतबश नै रविको बयान लम्ब्याइएको भन्दै सडकबाट विरोध प्रदर्शन गरिरहेको छ। यसका लागि उसले पोखरासहित विभिन्न स्थानमा चरणबद्ध रूपमा आन्दोलन नै गरिसकेको छ। 

कास्की प्रहरी स्रोतका अनुसार सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीको अनुसन्धान गर्नेक्रममा ती दुबै सहकारीलाई रविको हस्ताक्षर रहेको चेक बुझाएको र त्यसको प्रतिलिपि फेला परेको उकेरालाई बतायो। 

'चेकको प्रतिलिपि देखाएपछि उहाँ गल्नु भयो। अहिले चेक आफूले नकाटेको दाबी गरिरहनुभएको छ। तर हस्ताक्षरको परीक्षणमा उहाँकै रहेको खुलेकाले यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण बनेको छ ,' स्रोतले उकेरासँग भन्यो। 

तर, रविले भने यो चेकमा आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन्। रविले काटेको त्यो चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो। चेक देख्नासाथ उनी आश्चर्यचकित भएको प्रहरी अधिकारीहरूले बताएका छन्।

यद्यपि, उनले सुप्रिम सहकारीसँग कुनै कारोबारमा आफू संलग्न नभएको र आफूलाई जानकारी नभएको दाबी गर्दै आएका छन्।

'कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिबी राईले राईले ब्याज नलाग्ने ऋण लिएको डिक्लेयर गरेका छन्। उनको निर्देशनमा कुनै चेकहरू काटिएको हुनसक्छ र त्यसका लागि चेकसँगैको सपोर्टिङ डकुमेण्ट हेर्नुपर्ला, कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेले प्रवक्ता मनिष झामार्फत् बताएका छन्।

त्यसो त सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुअघि र परेपछि अहिलेसम्म रविले पटक-पटक आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। आफूलाई राज्यले प्रतिशोध साँधेर पक्राउ गरेको उनको दाबी छ।  

मंसिर २०, २०८१ बिहीबार १९:४०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।