एनपीएलमा जुवाको प्रचार रोक्न गृहले काठमाडौँ सिडिओलाई पत्र काट्यो, राखेप भन्छ ‘क्यानलाई सोध्छौँ’
काठमाडौँ : नेपाल प्रिमियर लिगको आयोजक क्रिकेट एशोसियन अफ नेपाल र तीन फ्रेन्चाइज टिमले त्रिवि क्रिकेट मैदानमा गरिरहेको अनलाइन जुवा र सट्टा खेलाउने कम्पनीको प्रचार रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र युवा तथा खेलकुद मन्त्रालयलाई पत्र पठाएको छ।
एनपीएलको आयोजक क्यानले मैदानमै वुल्फत्रिपलसेभेन नामको अनलाइन जुवा र सट्टा खेलाउने कम्पनीको सरोगेसी ब्रान्ड वुल्फत्रिपलसेभेनन्युजको प्रचार गरिरहेको छ। एनपीएलमा सहभागी आठ टिममध्ये लुम्बिनी लायन्स, विराटनगर र सुदूरपश्चिमले पनि जर्सीमा जुवा खेलाउने कम्पनीको सरोगेट ब्रान्डको लोगो राखेर प्रचार गरिरहेको छ।
प्रहरीले खेल मैदानको अनुगमन गर्दै ‘एनपीएलको मैदानमा कानुनले प्रतिबन्ध गरेको जुवाको प्रवर्धन भइरहेको’ प्रतिवेदनसहित गृहमा यसलाई नियन्त्रण गर्ने सम्बन्धमा पत्राचार गरेको थियो। प्रहरीको पत्रको आधारमा आवश्यक कारबाहीका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय र युवा तथा खेलकुद मन्त्रालयमा पत्र पठाएको गृहका सूचना अधिकारी दिलकुमार तामाङले उकेरालाई जानकारी दिए।
यस विषयमा युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता सुवास चन्द्र सिवाकोटीले क्यान खेल सङ्घ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्सँग आबद्ध रहेको र प्रतियोगिताको अनुगमन र निर्देशन राखेपले दिने भन्दै यसबारे सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल भइरहेको बताए।
‘एनपीएलको मैदानबाट अनलाइन जुवाको प्रचार गरेकोबारे मन्त्रीज्यूसँग अनौपचारिक छलफल भएको छ। राखेपका अधिकारीहरूसँग पनि यसबारे बुझ्ने काम भइरहेको छ,’ उनले बिहीबार उकेरासँग भने ‘कानुनले वर्जित गरेको गतिविधि भइरहेको हो भने मन्त्रालयले नियन्त्रणका लागि गर्नुपर्ने काम गर्छ।’
राष्ट्रिय खेलकुद परिषद्का सूचना अधिकारी खुसराज दाहालले राखेपको नीति अनुसार नेपालमा आयोजना हुने कुनै पनि खेलकुद गतिविधिबाट जुवाको प्रवर्धन गर्न नपाइने भन्दै यदि एनपीएलमा यस्तो भएको हो भने आयोजक संस्था क्यानसँग यसबारे सोध्ने बताए।
‘नेपालमा हुने खेलकुद गतिविधि नेपालको कानुन अनुसार सञ्चालन हुनुपर्छ। राखेपको नीतिमा कुनै पनि खेलमा अनलाइन जुवा सट्टा खेलाउने कम्पनी वा त्यसको सरोगेट कम्पनीको प्रचार गर्न पाइँदैन,’ दाहालले उकेरासँग भने ‘यदि मैदानबाटै यसरी जुवाको कम्पनी वा उसको सरोगेट कम्पनीको प्रचार भइरहेको हो भने यो गैर कानुनी हो। यसबारे क्यानसँग बुझ्छौँ।’
जुवा रोक्ने पत्रको गोल चक्कर
क्यानले एनपीएलको आयोजना गर्न सचिव पारस खड्काको संयोजकत्वमा बनाएको समितिले वुल्फत्रिपलसेभेन नामक अनलाइन र सट्टा खेलाउने कम्पनीको सरोगेट कम्पनी वुल्फत्रिपलसेभेनन्युको नाममा मैदानमा विज्ञापन राखेर प्रचार गरिरहेको छ। आयोजक समितिले नै गैर कानुनी काम गरेपछि लुम्बिनी लायन्सले जर्सीको पछाडि बेटिङ वेबसाइट ‘बाबु८८’को सरोगेट कम्पनी ‘बाबु८८ स्पोर्ट्स’को विज्ञापन राखेको छ।
अर्को टिम सुदूरपश्चिम रोयल्सले पनि आफ्नो जर्सीमा ‘बाबु८८’को सरोगेट कम्पनी ‘बाबु८८ स्पोर्ट्स’को प्रचार गरिरहेको छ भने विराटनगर किंग्सले बेटिङ वेबसाइट ‘बिजे८८’को सरोगेट कम्पनी ‘बिजे८८ स्पोर्ट्स’को प्रचार गरिरहेको छ।
यी सबै अनलाइन जुवा र सट्टा खेलाउने कम्पनीका सरोगेट ब्रान्ड हुन्। समाचारका नाममा उनीहरूले एनपीएल जस्तो लोकप्रिय लिगको मैदान आफ्नो जुवाको प्रचारमा उपयोग गरिरहेका छन्। एनपीएलको मैदान र फ्रेन्चाइज टिमको जर्सीमा राखिएका न्युज साइटहरूमा न एनपीएलबारे कुनै समाचार फेला पर्छ न त फ्रेन्चाइज टिमको नै कुनै गतिविधि देखिन्छ।
नेपालको कानुनले नेपालमा कुनै पनि प्रकारको जुवा खेल्ने, खेलाउने अनि जुवाको प्रचार गर्न प्रतिबन्ध लगाएको छ। तर क्यान अनि फ्रेन्चाइज टिमले सिधै कानुनको उलङ्घन गरेर जुवाको प्रचार गर्दा पनि नियन्त्रण गर्ने निकायहरू भने निर्देशनको पत्र घुमाएर बसेका छन्।
कानुनत वर्जित काम गर्ने मुख्य व्यक्ति नेपालको कानुन अनुसार मुख्य अभियुक्त हुने प्रावधान रहेको छ। त्यसलाई सघाउनेहरू मतियारका रूपमा लिइन्छ।
यो पनि:-
मंसिर २०, २०८१ बिहीबार १८:१२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।