विश्नोईको नाममा व्यवसायीलाई धम्क्याएको आरोपमा दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी, हिन्दू धर्ममा चन्दा मागेको दाबी
काठमाडौं : भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए।
उनका अनुसार पक्राउ पुर्जी जारी भएसँगै सीआईबीले प्रसाईंलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक कम्पनीमा प्रधानमन्त्रीको लगानी रहेको आरोप लगाएपछि पक्राउ परेका प्रसाईंविरूद्ध अहिले साइबर क्राइमको मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
यसअघि सीआईबीले झापा मेचीनगर-१३ का हरिचन्द्र फुयाँललाई पक्राउ गरेर विज्ञप्तिमै उनी दुर्गा प्रसाईँबाट परिचालित रहेको दाबी गरेको थियो।
त्यसबेला सीआईबीले जारी गरेको विज्ञप्तिमा ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईँको निर्देशनमा गरेको देखिन्छ’ उल्लेख गरेको छ। विज्ञप्तिमा नेपाली व्यवसायीहरूलाई भारतीय नम्बरबाट फोन तथा म्यासेज गर्दै आफू विश्नोईको सदस्य हुँ भनी प्रसाईँसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान जान सक्छ’ भनेर धम्क्याएको उल्लेख छ।
मंसिर ५ मा बैंकर र अन्य व्यवसाय गर्नेहरुमध्येका ४ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै सीआईबीमा उजुरी गरेपछि यो प्रकरणको अनुसन्धान सुरू भएको थियो।
सीआईबीका अनुसार त्यसरी धम्की दिनेहरूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएका थिए। उनीहरूले व्यवसायी प्रसाईंले हिन्दू धर्म जोगाउन लागेको हुनाले आर्थिक सहयोग गर्न भनेका छन्।
‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईंले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस्,’ फोन गर्नेहरूले भनेका थिए।
उनीहरूविरूद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ।
मंसिर २०, २०८१ बिहीबार १८:०९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।