डोनाल्ड ट्रम्पको पुनरागमनको साइड इफेक्ट : बिटकोइनको मूल्य एक लाख डलर नाघ्यो

डोनाल्ड ट्रम्पको पुनरागमनको साइड इफेक्ट : बिटकोइनको मूल्य एक लाख डलर नाघ्यो

एजेन्सी : विश्वको सबैभन्दा पुरानो, सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य एक लाख डलर नाघेको छ। बिटकोइन पहिलो पटक यो स्तरमा पुगेको हो।

१६ वर्षअघि सुरू भएको अभौतिक डिजिटल कारोबार एउटा बिटकोइनको मूल्य ६ अंकको पुगेको न्युयोर्क टाइम्सले जनाएको छ। क्रिप्टोकरेन्सीहरूमध्ये सबैभन्दा महंगो बिटकोइन बनेको छ। 

नेपाली मूल्यअनुसार एउटा बिटकोइनको मूल्य एक करोड ३५ लाख बढी पर्ने भएको हो। 

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि यसको मूल्य लगातार बढिरहेको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि आफ्नो चुनावी अभियानको क्रममा आफू बिटकोइनमा रूची राख्ने मानिस रहेको बताएका थिए। उनले बिटकोइनको मूल्य अझै बढाउने काम गर्ने बताएका थिए।

ट्रम्प सरकारले क्रिप्टो-अनुकूल नीतिहरू बनाउने लगानीकर्ताहरूको आशा छ। यही कारणले गर्दा क्रिप्टोकरेन्सीको मूल्य बढिरहेको हो।

यो वर्ष बिटक्वाइनको मूल्य शतप्रतिशतले बढेको छ। ट्रम्पको चुनावी विजयपछि चार सातामा यसको मूल्य ४५ प्रतिशतले बढेको छ। योसँगै बिटकोइनको मार्केट क्याप पहिलो पटक २ ट्रिलियन डलर नाघेको छ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न प्रतिबन्ध लगाइएको छ। कारोबार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुनेछ।  

मंसिर २०, २०८१ बिहीबार १६:४४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।