प्रधानमन्त्री ओलीलाई प्रश्न 'अब कहिले भारतको भ्रमण गर्नुहुन्छ?'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताएका छन्।
चार दिने चीनको औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा भारतको भ्रमण चाँडै एरेन्ज गर्ने बताए।
सञ्चारकर्मीले प्रधानमन्त्रीलाई अब दक्षिणको भ्रमण कहिले गर्नुहुन्छ? भनेर सोधेका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब एरेन्ज गर्नुपर्छ। कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ?’
सञ्चारकर्मीले उनलाई दक्षिणतिरबाट उत्तरतिर ढल्केको भन्ने आरोपबारे पनि प्रश्न गरेका थिए।
त्यसको जवाफमा उनले भनेका छन्, ‘म के भन्छु भने दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा कुनै मिडियाले गरेको छ भने लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन। कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन।’
ओलीले भ्रमणमा नेपाल-चीनको सम्बन्ध प्रगाढ बनाउने विषयमा चिनियाँ पक्षसँग सौहार्दपूर्ण कुराकानी भएको बताए।
मंसिर २०, २०८१ बिहीबार १६:११:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।