माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, विद्युत प्राधिकरणमा सरकारको हस्तक्षेपको विरोध
काठमाडौं : माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ।
बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासी खुमलटारमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।
‘आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ। जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको छ’, बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो।’
यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ।
भएभरका सबै दलहरू मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरू लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुरमा नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए।
कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जीतकै रुपमा लिएको उनले बताए।
‘विगतमा जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नसक्नुमा हाम्रो केही गल्ती कमजोरी भएकै हो, पार्टी र जनता दुबैको कुरा मिल्दै गएको छ’ उनले भने, ‘हाम्रो पार्टीले पनि जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीको रुपमा लिँदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरू गरेको छ भने जनताले पनि हाम्रो हितमा काम गर्ने पार्टी त माओवादी नै रहेछ भनेर पुनः बोध गर्न थालेका छन्।’
पार्टीले केन्द्रीय कार्यालय र स्थायी समिति बैठकहुँदै देशब्यापी परामर्श बैठकमार्फत लिएको पहलकदमी र सबै नेता कार्यकर्ताहरू एकताबद्ध भएर खटिँदा नै उपनिर्वाचनबाट यो परिणाम प्राप्त भएको सापकोटाले सुनाए।
उपनिर्वाचनले वृहत् बामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनका लागि थप आधार दिएको भन्दै अब यही २७ मा स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठकले यसबारे समीक्षा गर्ने उनले बताए।
बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरूलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। खबरदारी सभाका लागि केन्द्रीय नेताहरूलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।
समसामयिक विषयमा छलफल गर्दै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकाले छ। तर, पनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै निर्णयमा अडिग रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।
माओवादी केन्द्रले विद्युत प्राधिकरणमा सरकारले गरिरहेको हस्तक्षेपको विरोध गरेको छ।
‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त विरोध हुनेछ’ प्रवक्ता सापकोटाले भने, ‘सरकारले बिचौलिया र भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रुपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ।’
मंसिर २०, २०८१ बिहीबार १५:४३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।