लोक गायक बलबहादुरको हिजोको कुरा : रेडियो नेपालमा गाएको गीत हिट भएपछि गाउँमा हेर्ने नजर बदलियो, तँ भन्नेहरू तपाईँ भन्न थाले

लोक गायक बलबहादुरको हिजोको कुरा : रेडियो नेपालमा गाएको गीत हिट भएपछि गाउँमा हेर्ने नजर बदलियो, तँ भन्नेहरू तपाईँ भन्न थाले

बलबहादुर परियार पुराना लोक गायक तथा अवकाश प्राप्त नेपाल आर्मी हुन्। क्यान्सरबाट पीडित भएका उनी अहिले काठमाडौंको मैतीदेवीमा डेरामा बसिरहेका छन्। क्यान्सरको उपचारमा लाखौं खर्च भइसके पनि अझै निको भएका छैनन्।

गाउँकै स्कुलमा सुख-दुःख गरेर पढेका उनले २०४२ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरे। स्वर परीक्षा पास गरेपछि उनले रेडियो नेपालमै अनेकौं गीत गाउने मौका पाए। रेडियो नेपालबाट वरिष्ठ लोकगायकको प्रमाणपत्र समेत लिएका परियारले गीत गाएर जिविका चलाउन नसक्ने देखेपछि उनी आर्मीमा भर्ती भएका थिए।

आर्मीमा पनि उनलाई गायन ब्यान्डमा नै जागिर मिल्यो। सोही समयमा दरबारमा हुने कार्यक्रममा समेत सरिक हुने अवसर पाए गायक परियारले। त्यो क्षणलाई सम्झेर उनी अझै भावुक हुन्छन्।

दरबार टेक्ने परिवारकै पहिलो व्यक्ति भएकाले उनी गौरवान्वित महसुस गर्छन्। त्यतिबेला राज्यबाट पाइने सम्मानको साख नै धेरै ठूलो भएको महसुस गर्छन् उनी। जीवनको ५७औं बसन्त पार गरिसक्दा जीवनमा भोगेका व्यक्तिगत र पेशागत अनुभव उनले उकेराको कोलम ‘हिजोका कुरा’मा यसरी सुनाएः

स्कुलमा पढ्दा छुट्टै डेक्स-बेन्च
मेरो जन्म २०२४ सालमा ओखलढुंगाको तत्कालीन पोकली गाउँ पञ्चायतमा भयो। अहिले उक्त ठाउँ लिखु गाउँपालिका-९ पोकली लेतीमा पर्छ। पोकली गाउँ पञ्चायतमा त्यतिबेला तीन वटा स्कुल थिए। मैले चाहिँ लेती प्राविमा पढेको हुँ। स्कुल पढ्दा हामीलाई अलिक कठिनै थियो। बुबाआमाले हामीलाई पढाइमा ध्यान दिनुपर्छ भनेर पनि सम्झाउनुभएन। कामतिरै बढी लगाउनुहुन्थ्यो।

खोला तरेर स्कुल पढ्न जानुपर्ने भएर पनि होला बुवाआमाले पढ्नभन्दा खेतीकिसानी र गाउँघरमा बाजा बजाउन लैजानुहुन्थ्यो। बुबाआमा बालीघरे कपडाहरू सिलाउन जाँदा मैले घरमा भाइहरूको हेरचाह गर्थेँ। तीन दाजुभाइ र चार जना बहिनीमध्ये सबैभन्दा जेठो थिएँ म। कक्षा पाँचसम्म पढेपछि काठमाडौंको टंगाल आएर स्कुलमा पढेँ। एसएलसीभन्दा बढी पढ्न सकिएन।

त्यतिबेला दलित समुदायका केटाकेटीहरूलाई छुट्टै राखिन्थ्यो। एउटै कक्षा कोठा भए पनि फरक-फरक बेन्चमा राखिन्थ्यो। ढोकाको छेउमा हाम्रो बस्ने व्यवस्था हुन्थ्यो। त्यतिबेला कक्षा कोठाका विद्यार्थी ह्यान्डिल गर्न मनिटर राखिथ्यो।

हामीलाई त्यतिबेला पानी खाने कुरामा अलिक विभेद थियो। त्यतिबेला कार्यालय सहयोगीले हामीलाई सिधै लोटामा भरेर पानी खान दिँदैनथे। धारोमै खान भन्थे। यति धारोमा नभए घैलाको पानी उनैले लोटामा भरेर अलग्गै दिन्थेँ। लोटा छुन पाइँदैनथ्यो।

सर मिसहरूले विभेद गरेको महसुस भएन। माया नै गर्नुहुन्थ्यो। म सानैबाट फुर्तिलो थिएँ भने गीत गाएर सरहरूको प्रिय भइसकेका थिएँ। हाम्रो परियार समुदायमा पढ्नेहरूमा म अलिक लिडर जस्तो थिएँ। सरमिसहरूले ‘बोर्ड परीक्षामा तपाईंहरूलाई कसो गर्दा ठिक हुन्छ, हामीले के गर्न सक्छौँ?’ भन्ने खालका कुराहरू गर्नुहुन्थ्यो।

हाम्रा परिवारका सदस्यले नै पढ्नका लागि चासो दिएनन्। अर्काको घरमा बिहेमा बाजा बजाउन, लुगा सिउनमा मात्र बढी ध्यान दिइन्थ्यो। हाम्रो घरको जेठा बाँकी छोरी मेरो जेठी दिदीले एसएलसीसम्म पढ्नुभएको थियो। हाम्रो परियार समुदायमा त्यतिबेला उहाँले मात्रै पहिलो पटक पढ्नुभएको थियो। पछि मेरै कान्छी बैनीले १२ सम्म पढी।

छोरी मान्छेलाई पढाउनका लागि निकै कठिन थियो त्यो समयमा। बाजागाजा बोकेर रमाइलो गरि हिँडेको मान्छेलाई पढ्न जान कहाँ रमाइलो लाग्थ्यो र? बाजागाजामा नै रमाउन मन लाग्ने, पढ्न को स्कुल जाओस्? मलाई पनि पढ्न जानभन्दा बाजा बजाउन जानै रमाइलो लाग्थ्यो।

गायन यात्रा
गीतसंगीत र बाजागाजाका कारण सानैदेखि संगीतको माहोलमा हुर्किएँ म। मेरो हजुरबुवा, जिजुबुवादेखि मसँगको पुस्ताले पनि संगीतलाई नै अँगालेको हो। हाम्रा पुस्ताले बाजागाजा बजाउँदै आएको हुनाले हामी संगीतप्रेमी जस्तै नै थियौँ। स्कुलमा पनि म एकदमै चुलबुले प्रकारको थिएँ। स्कुलका शिक्षकहरूले पनि गीत गाउनका लागि मलाई नै रोज्नुहुन्थ्यो।

अहिलेको जस्तो कमजोर पढाइ त त्यतिबेला थिएन। सरले घोकाएर भए पनि पढाउँथे, तर कक्षा नभएको खण्डमा बेला-बेलामा सरमिसले मलाई गीत गाउन लगाउनुहुन्थ्यो। म त्यतिबेलै मीठो गीत गाउँथे। हाम्रो समयमा क्यासेट, डिजे, स्पीकरहरू थिएन। गीत गाउँदा लाइभ नै हुन्थ्यो। विभिन्न कार्यक्रमहरू गर्दा पनि लाइभमा नै गाउनुपर्ने हुन्थ्यो। गाउँमा माइकको चलन नै थिएन।

स्कुलबाट घर फर्कँदा बाटोमा छरमिछेकीले ‘ओए! जेठा एकछिन पख् पख्, एउटा मीठो गीत गाइदेन’ भन्ने गर्नुहुन्थ्यो। उहाँहरूले गाउँमा फलेको सुन्तला वा अम्बा जे भए पनि दिएर गीत गाउन लगाउनुहुन्थ्यो। त्यही माहोलले गर्दा नै होला मलाई गायन क्षेत्रमा अगाडि बढाउने हौसला मिलेको।

त्यतिबेला मैले चलेको गीत ‘कालो चोलो कलकत्ते बाहुला, हातमा घडी सुहाउला कि नसुहाउँला’ भन्ने सुनाउँथे। मेरो बुवा गाउँको त्यस समयमा जनप्रतिनिधि जस्तै नै हुनुहुन्थ्यो। त्यो बेला नै बुबाले रेडियो किनेर ल्याउनु भएको थियो।

गार्मेन्टबाट रेडियो नेपालको यात्रा
म ३८ सालतिर गाउँबाट काठमाडौं आएको हो। काठमाडौं आएपछि गीत गाउने ठाउँ कहाँ हो भन्ने नै थाहा थिएन। बस्न र खान कुनै इलम गर्नुपर्ने हुन्थ्यो। एक जना गाउँकै दाइसँग काठमाडौं आएको थिएँ। उहाँले ज्यामी काम गर्नुहुन्थ्यो। उहाँसँगै ज्यामी काम गर्दा गर्दै गार्मेन्टमा काम गर्न थालेँ। यद्यपि मनमा चाहिँ गीत रेकर्ड गर्न ठाउँ कहाँ होला भने हुन्थ्यो।

त्यतिबेला शब्द भनेको के हो, संगीत कसरी गरिन्छ र कसरी गाउने हो भन्नेबारे केही पनि थाहा थिएन। रेडियो नेपाल कहाँ छ भनेर केही मान्छेहरूलाई सोध्दा सिंहदरबारमा भन्ने जवाफ आउँथ्यो। यो ४१ सालतिरको कुरा हो। त्यो समयमा सिंहदरबारको पश्चिम गेटबाट अरूको सहारा पाए भित्र छिर्न पाइन्थ्यो, नत्र पाइँदैनथ्यो।

४२ सालतिर मैले रेडियो नेपालमा प्रवेश गर्ने मौका पाएँ। त्यतिबेला लोकबहादुर क्षेत्रीले सिंहदरबारको गेटमा किन आएको भाइ भनेर सोध्नुभयो। मैले गीत गाउन रहर भएको कुरा सुनाएँ। त्यतिबेलै उहाँले एउटा गाउन लगाउनुभयो। मैले पनि पुरानो भाका गाइदिएँ। उहाँलाई मन परेछ ‘ल हिँड भित्र’ भनिहाल्नुभयो नि!

रेडियो नेपालमा त्यतिबेला चौतारी कार्यक्रम हुँदो रहेछ। गीत गाउन स्वर परीक्षा हुँदो रहेछ। स्वर परीक्षाका लागि चार सय जनाले परीक्षा दिन्थे। त्यसमा बढीमा आठ जना मात्र पास हुन्थे। अहिले त अलिकति पैसा छ भने जो पनि गायक।

त्यतिबेला राज्यले गर्ने सम्मान पनि निष्पक्ष हुन्थ्यो। राष्ट्रमा गीत गाएर परिचित भइयो भने कुनै पनि पार्टीको मान्छे हुनै पर्दैनथ्यो। स्वतः सम्मानको लायक भइन्थ्यो र भइयो पनि। अहिलेको राज्यको हेराई पहिलाको तुलनामा गतिलो छैन, जति त्यतिबेलाको हेराइ मीठो हुन्थ्यो।

मैले ४२ सालमा स्वर परीक्षा पास गरेपछि आफ्नै गाउँघरको भाका ‘पोकली झरनामा रुमाल खसेछ, कर्मा हाँसेर बोलेर माया बसेछ’ आफ्नै लय शब्द रचनामा रेकर्ड गराएँ। यो गीत त्यतिबेला एकदमै हिट भयो। रेडियो नेपालमा यो गीत बज्न थालेपछि गाउँमा मलाई हेर्ने नजर नै बदलियो।

म घर जान लागेको समयमा फलानोको छोरा आउँदैछ रे भन्दै हेर्न आउँथे। गीत गाउँदाको अनुभव सुनाउन भन्थे। पहिला ‘तँ’ भनेर बोलाउनेहरूले पनि ‘तिमी’ र ‘तपाईं’ भन्न थाले। गाउँमा मेरो छुट्टै सम्मान हुन थाल्यो। चर्चा र सम्मान भए पनि त्यतिबेला रोजीरोटीकै लागि ठूलो संघर्ष थियो।

त्यही समयमा मैले ‘तिमीलाई होकी जाइफूल, मलाई नै हो कि घुटुक्क लाइरहने बाडुल्की’, ‘चोक्टे खोला बाढी आयो’, ‘रैछ मेरो करिमा हार’, ‘रानी बन कुवाको’ लगायत दर्जनौं गीत गाउने अवसर पाएँ। रेडियो नेपालले मलाई वरिष्ठ लोकगायकको रुपमा सम्मान समेत गर्यो।

गीत गाउन थालेपछि मेरो सबै कलाकारसँग चिनजान हुन थाल्यो। त्यही समयमा हाम्रै लोक गायक नविन ढुङ्गेल अंकल पल्टन (नेपाल आर्मी)मा हुनुहुन्थ्यो। उहाँसँग पनि मेरो निकटता बढ्यो।

आर्मीमा पनि गीत गाउने जागिर
नेपाली सेनाको कपडा सिलाउने ज्यालादारीमा काम गरिरहेको थिएँ। त्यहीको कर्मचारी हुनका लागि मैले दुई/तीन पटक ट्राइ पनि मारेँ। त्यतिबेला असफल भएँ। त्यतिबेला राजाको सिन्दुर भन्थेँ। मलाई पनि राजाको सिन्दुरको जागिर खान जुरेको रैछ। सानो पदमा भए पनि जागिर खाने मौका मिल्यो, खाएँ। सेनाको जागिरमा पनि मेरो काम गाउने नै भयो।

यो ५० सालतिरको कुरा हो, ज्यालादारीमा काम गरिरहँदा पल्टनका विभिन्न कम्पिटिसन भएको देख्थेँ। सेनाभित्र गण प्रतिस्पर्धा हुन्थ्यो। त्यही गणमा पनि आर्मीले नाच्ने गाउने देखाउनुपर्थ्यो। ज्यालादारीमा म गीत गाउनेमा सहभागी हुन्थेँ। सबै कुरामा सफल भए तापनि गीत गाउने आर्मीको अभाव हुन्थ्यो। त्यसमा म गीत गाउने कुरामा अग्रसर हुन्थेँ।

एक/दुई पटकको प्रयासपछि म पनि महाराजगन्ज भैरव गणको पल्टनमा भर्ती भएँ। सेनामा कम्पिटिसनमा सफल भएपछि सेनाका लागि योग्य भएँ। तालिम सबै पूरा गरेपछि मलाई सेनाको गीत गाउनेकै पार्टमा राखियो। म संगीत गुल्ममा परे। हाम्रोमा के हुन्छ भने आर्मी ब्याण्ड र संगीत ब्याण्ड भन्ने हुन्छ। त्यसमा सरुवा भएर देशको सेवा गर्न पाइयो।

सेनामा पनि गीतसंगीतकै ब्याण्डमै सरुवा भएको हुनाले मलाई रेडियो नेपालमा गीत गाउनका लागि रोकतोक थिएन। तर, गणबाट बाहिर निस्किँदा होस् या कुनै गीत रेकर्ड गर्नुपरे, गुल्म प्रमुखलाई पत्र लेख्नुपर्थ्यो। त्यो म लेखेर नै बाहिर आउँथेँ। अहिले म जुनियर अफिसर (जेसियो) भएर अवकाश लिए। यो लिएको पनि १० वर्ष भइसकेको छ।

राजारानीका अगाडि गीत गाउने त्यो सुनौलो अवसर 
हामी भन्दा दाइने कमाण्डरका नेतृत्वमा तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्र शाहको अगाडि गीत गाइयो। दरबार जस्तो ठाउँमा त्यो पनि बैठक कोठामा गीत गाउन जानेभन्दा एकप्रकारको डर र हर्ष हुन्थ्यो। त्यो स्वभाविक थियो सायद। दरबार जानेभन्दा कमाण्डरले फलाना-फलाना ड्युटीमा परेका छौ है भन्थेँ।

विभागबाट हामीलाई जानकारी आएपछि दरबार जाँदा लगाउने पोशाक छुट्टै हुन्थ्यो। त्यो लगाएर समयमा नै रेडि हुन्थ्यौ। कुन गीत गाउने हो पहिला नै हामी रेडी पार्थ्यौं। सांस्कृतिक टोलीको टिम दरबारमा पुगेर मजाले गीत गाउँथ्यौँ। राजालाई मन पर्यो भने एडीसीलाई भन्न पठाउँथेँ। कमाण्डर-कमाण्डरबीच कुरा हुन्थ्यो। कमाण्डरले हामीलाई जानकारी दिनुहुन्थ्यो। हामी सोही अनुसार गीत गाउने गर्थ्यौँ।

दरबारको कुरा भइहाल्यो, अझै खुलस्त पार्छु। नारायणहिटी दरबारभित्र स्टेज थियो। अहिले पनि होला। त्यहाँ हामी एकातर्फ र राजा वीरेन्द्र, रानी ऐश्वर्य, ज्ञानेन्द्र शाह, कोमल लगायत सबैको उपस्थिति हुन्थ्यो। उहाँहरू एकदमै अनुशासित भएर बस्नुहुन्थ्यो। हामी जर्नेलबाट अवकाश लिनुभएका शुभ बहादुर सुनामको नेतृत्वमा दरबार जान्थ्यौँ र प्रस्तुति दिन्थ्यौँ।

मलाई अहिले पनि याद छ, एक दिन पूर्वरानी कोमल राज्य लक्ष्मी शाहको जन्मदिनमा निर्मल निवासमा गीत गाउने अवसर पाएँ। त्यतिबेला तत्कालीन राजा वीरेन्द्र पनि आउनुभएको थियो। यो सायद ५४ सालतिरको कुरा हो। त्यो बेला उहाँहरूको अगाडि गीत गाउँदाको क्षण अहिले पनि म सम्झन्छु। त्यतिबेला राजाले त्यतिबेला चलेका गीतहरू सुन्न रुचाउनुहुन्थ्यो। संगीतमा एकदमै रमाउनुहुन्थ्यो।

कलाकारहरूलाई दरबारले असाध्यै माया गरेको पाउँथेँ। उनीहरू साहित्य कलाको पारखी हुनुहुन्थ्यो। कलाको सम्मान पनि हुन्थ्यो। तर, अहिले त्यस्तो छैन। मैले अहिलेको शासकहरूले कलाकारलाई सम्मान गरेको खासै पाउँदिन।

मंसिर २०, २०८१ बिहीबार १५:२९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।