एनपीएलमा जनकपुरको लगातार तेस्रो जित, पोखरा खेलेको दुई खेलमै पराजित
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ।
बिहीबार भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा पोखराको यो लगातार दोस्रो हार हो।
पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। उसका लागि लाहिरु मिलान्थाले ३२ बलमा ४५ रनको बनाउँदा आशिफ शेख ३३ र हर्ष ठाकर १३ रनमा अविजित रहे।
त्यसका अलावा जिमी निसमले २० बलमा ४० रनको आक्रामक पारी खेले। बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेल, विपिन खत्री र माइकल लिस्कले समान एक-एक विकेट लिए।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको एभेन्जर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३८ रन जोड्यो।
उसका लागि मार्कस क्रिथ्ली ३५, माइकल लिस्क २५, एन्ड्रु गोस २०, रेमन रिफर १७, दिलिप नात ११, दिनेश खरेल १० र कप्तान कुशल भुर्तेल ६ रनमा आउट भए।
कप्तान भुर्तेल पहिलो खेलमा पहिलो बलमै आउट भएका थिए। विपिन खत्री र नारायण जोशीले अविजित रहँदै क्रमशः १ र ५ रन जोडे।
जनकपुरका ललित राजवंशीले तीन विकेट लिँदा जेम्स निसमले दुई तथा मोहम्मद मोसिन र किशोर महतोले समान एक-एक विकेट लिए।
जारी प्रतियोगितामा जनकपुरले दुई खेलि जितिसकेको छ भने पोखरा पहिलो खेलमा पराजित भएर दोस्रो खेल खेल्दैछ।
जिमी निसम प्लेयर अफ दि म्याच बने।
जितसँगै जनकपुर तीन खेलमा ६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ भने पोखरा लगातार दुई खेलमा पराजय भोग्दै तालिकाको पुच्छारबाट दोस्रोमा छ।
मंसिर २०, २०८१ बिहीबार १२:१५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।