१३ वर्षदेखि स्थानीय उत्पादनलाई नै प्राथमिकता दिएका प्रकाश

१३ वर्षदेखि स्थानीय उत्पादनलाई नै प्राथमिकता दिएका प्रकाश

सुर्खेत : १३ वर्षअघि पञ्चपुरी नगरपालिका-६ का प्रकाश कँडेलका बुवाआमाले सडक छेउमा होटेल चलाउँथे। त्यही होटेलको आडमा सडक छेउमा ठेला राखेर तरकारी बेच्थे उनी। पाँच वर्षसम्म उनले ठेलामै तरकारीको व्यापार गरे। अहिले २७ वर्षका उनी त्यसबेला १४ वर्षका थिए।

प्रकाशको मेहनत देखेपछि उनका बुवाआमा पनि प्रकाशले तरकारीमै केही गर्नसक्छ भन्नमा विश्वस्त भए। आठ वर्षअघि उनी ठेलाबाट व्यवस्थित व्यवसायमा लागे। उनले फलफूल र तरकारीको होलसेल बिक्री गर्न कँडेल सप्लायर्स पसल नै दर्ता गरेर व्यवसायमा होमिए। बुवाआमाले होटेल पनि बन्द गरे। बाबियाचौरमा उनको पसल राम्रै चल्यो।

अरू व्यवसायीले बाहिरबाट तरकारी ल्याउँदा प्रकाश किसानको खेतबारीमै पुगेर स्थानीय उत्पादनलाई प्राथमिकता दिन्थे। १३ वर्षको मेहनत र लगनशीलताले उनले आफूलाई यस क्षेत्रमा स्थापित मात्र गरेनन्, दुई युवालाई रोजगारी र कृषकको उत्पानलाई बजार समेत दिए।

‘पहिला ठेलामा गर्दादेखि अहिलेसम्म मेरो पहिलो रोजाइ नै स्थानीय उत्पादन हो,’ उनले भने, ‘त्यही कारण अहिले मेरो पसल स्थानीय उत्पादन पाइने ब्राण्डका रूपमा परिचित छ।’

उनी हरेक दिनजसो फलफूल र तरकारी किन्नका लागि पश्चिम सुर्खेतका लगाम, बेतान, बिजौरा, जामु, चउर, सालकोट लगायतका ठाउँमा जान्छन्। त्यहाँबाट सिधै कृषकसँग किन्छन्।

ढुवानी र केही फाइदा जोडेर बेच्छन्। जसबाट सबै खर्च कटाएर उनलाई मासिक ६० देखि ७० हजारसम्म खुद नाफा हुन्छ। कृषकबाट सिधै ल्याउँदा उपभोक्तालाई पनि सहुलियत दरमा दिन सकिने प्रकाश बताउँछन्।

‘बाहिरबाट तरकारी ल्याउँदा विषादी लगायतका समस्या हुन्छन्। बिचौलियाले मात्रै पैसा कमाउँछन्। कृषकले त मेहनतको पैसा पनि पाउँदैनन्। बाहिरबाट ल्याएपछि यहाँको सबै पैसा बाहिर जान्छ,’ प्रकाशले भने, ‘म सिधै कृषकसँग ल्याउँछु। उनीहरूले बजार मूल्य पाउँछन्। त्यसमा अलिकति ढुवानी र फाइदा जोडेर बेच्दा मलाई पनि फाइदा नै हुन्छ। जसले गर्दा कृषक, ग्राहक र व्यापारी सबैलाई फाइदै हुन्छ।’

उनले स्थानीय स्तरमा पाइने सुन्तला, कागती, अमिलो, फर्सी, लौका, करेला, गोलभेँडा, आँप, आलु, केरा, खुर्सानी, पिँडालु, गोबी, साग लगायतका तरकारी र फलफुल बेच्छन्। सुरूमा ठेलामा तरकारी बेच्ने साहुजी भनेर हेप्नेहरू अहिले साहु भएपछि सम्मान गर्न लागेको उनले सुनाए।

‘ठेलामा तरकारी बेच्दा धेरैजसो मानिसहरूले हेप्थे। के छ ठेलावाला साहुजी भनेर गिज्याउँथे,’ उनले भने, ‘तिनै मान्छेहरू अहिले सम्मानका साथ मेरोमा तरकारी आएर लैजान्छन्।’

चुनौतीलाई अवसरमा बदल्ने अठोटले ठेलाबाट व्यवस्थित व्यापारमा पुगेको उनले बताए। उनीसँग अहिले पनि ढुवानीका लागि आफ्नै गाडी छ। तरकारी र फलफूल राख्नका लागि ५ टनको कोल्ड सेन्टर पनि छ।

तर, व्यवसाय गर्दा सरकारी तथा गैरसरकारी संस्थाबाट कुनै किसिमको सहयोग नलिएको प्रकाशको दावी छ। व्यवसायलाई अझै विस्तार गर्दै अन्य सेवाहरू थप्ने योजना उनको छ।

‘यतिका वर्षसम्म मैले व्यवसाय गर्दा एक रुपैयाँ पनि अनुदान ल्याएको छैन। यहाँ हामीजस्ताले कहाँ अनुदान पाउँछौं र?,’ उनले भने, ‘तरकारी र फलफूलको गुणस्तर सुधार गर्दै होम डेलिभरी सेवा सुरु गर्ने सोच बनाएको छु। १० जना युवाहरूलाई रोजगार दिने र यहाँको उत्पादन यहीँ खपत गर्ने योजना छ।’

तरकारी व्यवसायबाटै बुवाआमा श्रीमती, छोराछोरी र बहिनीको संयुक्त परिवारलाई खुसी दिन सकेको उनको भनाइ छ।
 

मंसिर २०, २०८१ बिहीबार ११:११:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।