उकेराको खुलासासँगै जेल गएका नागरिक उन्मुक्तीका चौधरीको सांसद पद के होला?

उकेराको खुलासासँगै जेल गएका नागरिक उन्मुक्तीका चौधरीको सांसद पद के होला?

काठमाडौँ : अदालतले कैद सजाय तोके पनि निर्धक्क निर्वाचनमा उम्मेदवार बनेर सांसद भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सांसद पदको वैधताबारे पुस १७ मा फैसला आउने भएको छ।

ट्याक्टर आगजनीमा अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिए पनि चौधरी भने निर्धक्क थिए। प्रहरीले उनको खोजी नै गरेको थिएन। उकेराले प्रमाणसहित चौधरी अदालतबाट कैद सजाय तोके पनि कैद कट्टा नभएका दोषी रहेको समाचार प्रकाशित गरेपछि उनी पक्राउ परेका थिए।

२०६६ भदौ ३ मा उनीसहितले लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। उनीसहित तीन जना प्रतिवादी भएकोमा २०७० मा अदालतले तीनै जनालाई दोषी ठहर गरेको थियो।

अदालतबाट कैद सजाय तोकिएका व्यक्तिको कैद भुक्तानका लागि फैसला कार्यान्वयन गर्न खोजी गरी अदालतमा बुझाउने गरिए पनि उनको हकमा भने खोजी नै सुरु भएन।

उनी अदालतबाट ६ महिना कैद सजाय तोकिएका दोषी रहेकोबारे उकेराको खुलासासँगै उनी २०७९ माघमा १९ मा पक्राउ परेर तत्काल जेल चलान भएका थिए। तर करिब साढे दुई महिनामै राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरेर २०८० फागुन ७ मा उनी कारागारमुक्त भएका थिए।

उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता वसन्त जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतबाट दोषी ठहर भए पनि उनले उम्मेदवार बन्दा आफ्नो विवरण ढाँटेको उनको दाबी थियो। सांसदको उम्मेदवारको मनोनयन पत्रमा उनले कुनै अदालतले कैद तथा दण्डसजाय नतोकेको र भुक्तान गर्न पनि बाँकी नभएको उल्लेख गरेका थिए। तर यो झुटो थियो।

सर्वोच्चमा उनको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटमा बुधवार बल्ल संवैधानिक इजलासमा बहस भएको थियो। बुधवार बहस सकिए पनि फैसला भने आएन। फैसलाका लागि पुस १७ गते तोकिएको छ।

बुधवार रिटमाथि प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा बहस भएको थियो। उनी अहिले पार्टीकोतर्फबाट सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।

सम्बन्धित समाचार

मंसिर १९, २०८१ बुधबार २२:५५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।