एनपिएल टिमको जर्सी : जलवायु परिवर्तनको सन्देशदेखि जुवा कम्पनीको विज्ञापनसम्म

एनपिएल टिमको जर्सी  : जलवायु परिवर्तनको सन्देशदेखि जुवा कम्पनीको विज्ञापनसम्म
जलवायु परिवर्तनमा जनचेतनामुलक सन्देश राखिएको पोखरा एभेन्जर्सको जर्सी।

काठमाडौँ : नेपाल प्रिमियर लिगका आठ फ्रेन्चाइज टिमले जर्सीमा गाडी, चाउचाउ, बैङ्कदेखि अनलाइन जुवा खेलाउने कम्पनीसम्मको विज्ञापन राखेका छन्।

पैसाको लोभमा फसेर आयोजक क्यान आफैँ क्रिकेटको लोकप्रिय मैदानबाट अनलाइन जुवा र सट्टाको प्रचार गरिरहेको छ। स्रोतका अनुसार क्यानले आठै फ्रेन्चाइज टिमलाई अनलाइन जुवा खेलाउने एपको सरोगेसी नामको लोगो राख्न अनुमति दिएको थियो।

सोही अनुसार आठै टिमलाई विभिन्न अनलाइन जुवा खेलाउने अन्तर्राष्ट्रिय कम्पनीहरूले प्रस्ताव राखेका पनि थिए। तर पाँच कम्पनी सीमित आर्थिक स्रोतको लोभमा क्यान फसेजस्तो अनलाइन जुवा र सट्टा खेलाउने कम्पनीको मोहमा परेनन्। तर तीन टिम लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले आफ्नो जर्सीमा अनलाइन जुवा खेलाउने कम्पनीको सेरोगेसी लोगो राख्न राजी भए।

लुम्बिनीले अनलाइन जुवा प्रवर्धन गर्न खेलाडीको जर्सीमा राखेको विज्ञापन। तस्बिर : कृष्पा श्रेष्ठअनलाइन जुवाको विज्ञापन गर्न नमानेका पाँच टिममध्ये पनि पोखरा एभेन्जर्सको जर्सी अलग देखियो। जर्सीको अगाडि अनि पछाडि विज्ञापन राख्ने महत्त्वपूर्ण स्थानमा कुनै विज्ञापन थिएन, वातावरण सम्बन्धी सन्देश थियो।

जर्सीको अगाडिको प्रिमियम स्थानमा ‘ग्लेसियर्स म्याटर्स’ भन्ने सन्देश राखिएको छ भने पछाडिको भागमा पियोर याज प्यारडाइज अर्थात् स्वर्गजस्तै पवित्र भन्ने सन्देश लेखिएको छ। विज्ञापन राखेर टिममा भएको खर्च उठाउनतिर नलागेर आखिर पर्यावरण र पर्यटनको सन्देश किन राखेको?

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले पहिलो पटक एनपिएलमा आफ्नो टिमको जर्सी पग्लिँदै गएको ग्लेसियरको संरक्षण र पोखराको पर्यटन प्रवर्धनमा समर्पित गरेको बताए।

‘टिमको जर्सीमा विज्ञापन राख्न विभिन्न कम्पनीले चासो राखेका थिए। तर यस पटक जलवायु परिवर्तन र गण्डकी प्रदेशको टिम भएकाले पर्यटन प्रवर्धनमा जर्सी समर्पण गर्न कसैको लोगो राखेनौँ,’ त्रिपाठीले भने ‘विज्ञापन नपाएर यसो गरिएको हैन। यो हाम्रो वातावरण र पर्यटनप्रतिको प्रतिबद्धता हो।’

कर्णाली याक्सको जर्सी। उसले महिन्द्रालाई जर्सीको अगाडि स्थान दिएको छ।गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने टिम भएकाले त्यहाँको अर्थतन्त्रमा टेवा पुर्याउन पर्यटन प्रवर्धन गर्न पोखरालाई स्वर्गजस्तै पवित्र भन्ने ट्यागलाइन दिएको र  जलवायु परिवर्तनको चेतनालाई प्राथमिकतामा राखेर जर्सीको अगाडि 'ग्लेसियर्स म्याटर’ अर्थात् हिमनदीहरू महत्त्वपूर्ण छन् सन्देश राखेको उनले बताए।

उनले पोखरा एभेन्जर्सले सुरुवातदेखि नै पर्यटन प्रवर्धन र जलवायु परिवर्तनलाई आफ्नो मूल मुद्दा बनाएर अघि बढिरहेको र जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिउँ पग्लने क्रम रहेकाले पर्यावरण र वातावरण संरक्षणमा चेतना जगाउन जर्सीको अगाडिको भागमा ग्लेसियर जोगाउन चेतनामूलक सन्देश राखिएको बताए।

पोखरा एभेन्जर्सको जर्सीको पछाडि जहाँ लेखिएको छ पियोर याज प्यारडाइज।‘गण्डकी जलवायु परिवर्तनको चपेटामा पर्दै जाने हो र हिमालबाट हिउँहरू सकिँदै जाने हो भने यसले हाम्रो सौन्दर्यताकलाई नै सङ्कटमा पार्छ,’ उनले भने ‘हाम्रो सौन्दर्य सङ्कटमा पर्नु भनेको संसारकै सुप्रसिद्ध पर्यटकीय सहरका रूपमा परिचित पोखरासँगै सिङ्गो गण्डकी प्रदेशकै अर्थतन्त्रमा असर पुग्नु हो।’

कसको जर्सीमा के छ?

कर्णाली याक्सको अगाडि महिन्द्राको लोगो छ। पछाडि टिमकै कम्पनी हिमालयन बिल्डर्सको लोगो राखिएको छ। लुम्बिनी लायन्सको अगाडि एनसेलको लोगो छ। तर पछाडि जुवा खेेलाउने कम्पनिको सरोगेट लोगो छ।

विराटनगरको अगाडि एभरेष्ट बैंकको लोगो छ। पछाडि जुवा खेलाउने कम्पनीको लोगो छ। काठमाडौँ गुुर्खाजको अगाडि बिवाइडीको लोगो छ। तर पछाडि टिमका मालिकमध्येकै एक उपेन्द्र महतोको मेडिसिटीको लोगो छ।

चितवन टिमको जर्सिको अगाडि ब्लुस्टार र पछाडि टिमकै लगानीकर्ता चितवन मेडिकल कलेजको लोगो छ। सुदूरपश्चिम रोयल्सको अगाडि ग्लोबल आइएमइ बैंककोको लोगो छ। पछाडि सट्टा खेेलाउने कम्पनीको लोगो छ। जनकपुरको अगाडि डिएनए र पछाडि रमपमको लोगो छ।

 

मंसिर १९, २०८१ बुधबार २२:१०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।