उकेरा टप फाइभ : मैदानमा धवनको ‘जादु’ नचलेकोदेखि पूर्वउपराष्ट्रपति पासाङ माओवादीको उपाध्यक्ष बन्ने चर्चासम्म
काठमाडौं : आज राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई बुधबार विहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनको स्वास्थ्य अवस्था बुझ्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल पुगेका छन्।
नेपाल प्रिमियर लिग एनपिएलको पहिलो खेलमा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ। कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टायो। योसँगै कर्णाली लिगको दुई खेलमा पराजित भयो।
त्यसैगरी एनपिएलमै आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ। हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको हो। यसअघि उसले दुईवटा खेल हारिसकेको छ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परेर आठ प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीतर्फ १६ जना घाइते भए। दुवैतर्फका घाइतेहरूको उपचार भइरहेको छ।
यसैबीच आजै रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ। वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि र छविसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन गरे। चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे सङ्ग्रहालयमा सामग्री हेर्न सकिनेछ। प्रधानमन्त्रीसहितको भ्रमण दल बिहीबार दिउँसो स्वदेश फर्किँदैछ।
अब लागौं, उकेरा टप फाइभतर्फ:
उकेराले आज बिहान एनपिएलमा पहिलो खेल खेलेको लुम्बिनी लायन्सले पनि जुवाको प्रचार गरेको समाचार लेख्यो। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तनीमा रहेको टोलीको जर्सीमा बेटिङ वेबसाइट ‘बाबु८८’को सरोगेट कम्पनी ‘बाबु८८ स्पोर्ट्स’को प्रचार गरेको हो।
पूरा समाचार: जुवा अड्डा बन्दै त्रिवि मैदान, लुम्बिनीको जर्सीबाट पनि सट्टेबाजीको प्रचार
उकेराले आज दिउँसो दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको समाचार समेट्यो। युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौं प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए। विपक्षीले बुधबार राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने प्रस्ताव गरेका छन्।
पूरा समाचार: दक्षिण कोरियामा राष्ट्रपति युनलाई बिदा गर्न महाभियोग लगाउने विपक्षीको निर्णय
उकेराले आज दिउँसै टीयू क्रिकेट मैदानमा भइरहेको एनपिएलमा आयोजकले नै अनलाइन जुवा र सट्टेबाजी प्रवर्धन गरेको देखिएको भन्दै यसलाई रोक्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्र पठाएको समाचार लेख्यो। प्रहरी प्रधान कार्यालयले एनपिएलको खेलस्थलको स्थलगत अनुगमनमा आयोजक क्यानले अनलाइन जुवाको प्रचार प्रसार गरेको देखिएको र सो विद्यमान नेपालको कानुन विपरीतको गतिविधि भएकाले तत्काल रोक्न आवश्यक रहेको भन्दै तालुकवाला युवा तथा खेलकुद मन्त्रालयसँग आवश्यक समन्वय गर्न गृहमा पत्र पठाएको हो।
पूरा समाचार: एनपिएलको मैदानमा अनलाइन जुवाको प्रचार रोक्न गृहमा प्रहरीको पत्र, प्रवक्ता भन्छन् ‘त्यस्तो भए कारबाहीको दायरामा आउँछन्’
उकेराले साँझपख एनपिएलका दुवै खेलको विश्लेषणसहितको समाचार लेख्यो। पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ बनाउन शिखर धवनको विस्फोटक ब्याटिङले निकै साथ दियो। तर, जितको लागि पर्याप्त बनेन। अघिल्लो खेलमा पनि १४ जनमै समेटिएका धवनले दोस्रो खेलमा पनि जितका लागि दर्शकको अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेनन्। दोस्रो खेलमा विराटनगरका क्याप्टेन सन्दीप लामिछाने बलिङ अनि ब्याटिङ दुबैतर्फ फर्ममा नभए पनि टिमलाई तेस्रो खेल हार्नबाट जोगाउन विराटनगरका लोकेश बमले महत्त्वपूर्ण भूमिका निभाए।
पूरा समाचार: एनपिएल चौथो दिन : शिखरले बनाएको चुनौती करणले पार गरे, लोकेशको ब्याटिङले लुम्बिनीलाई विराटनगरको झड्का
उकेराले आज साँझपख नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई पार्टीको उपाध्यक्ष बनाउन तयारी गरिरहेको समाचार लेख्यो। प्रचण्डले पासाङलाई उपाध्यक्ष बनाउने यसअघि नै बचन दिइसकेका थिए।
पूरा समाचार: पूर्व उपराष्ट्रपति पासाङलाई माओवादीको उपाध्यक्ष बनाउँदै छन् प्रचण्ड
मंसिर १९, २०८१ बुधबार २२:००:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।