फिल्म ‘अञ्जिला’को प्रेसमिटमा दयाहाङदेखि विजय बरालसम्म नआउँदा खल्लो
काठमाडौं : फिल्मको पत्रकार सम्मेलनमा त्यसका मुख्य कलाकार आए कि आएनन् भन्ने कुराले ठूलो अर्थ राख्छ। अझ युट्युबमा भ्युज आउने कलाकार नहुँदा युट्युबरलाई पनि अल्छी लाग्छ। बुधबार दरबारमार्गमा रहेको एक हलमा त्यस्तै भयो।
मिलन चाम्सले आफ्नो फिल्म ‘अञ्जिला’को प्रेस मिट गरेका थिए। साढे १२ बजेदेखि भनिए पनि कार्यक्रम एक घण्टा नै ढिलो भयो। कार्यक्रममा फिल्म पत्रकार तथा खेल पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो। निर्माण पक्षले फिल्मको प्रेसमिट भनेकाले फिल्मका मुख्य कलाकारमध्ये दयाहाङ राई, बिजय बराल, माओत्से गुरुङ लगायतको उपस्थिति हुन्छन् भन्नेमा धेरैलाई लागेको थियो।
तर, दया, बिजय, माआत्सेलगायत परिचित कलाकार भन्दापनि खेलकुदकर्मीको उपस्थिति बाक्लो देखियो। दया अनि बिजयको भिडिओ खिच्न पुगेका पत्रकारहरू निरास भए। अझ युट्युबरलाई त मसलै मिलेन।
फिल्म जसको बायोपिक बनेको हो, उनी भने उपस्थित भइन्। फिल्मकी प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बा आएकी थिइन्। उनी आउनुको पनि मुख्य कारण भने थियो, ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि फिल्म टिमको बिदाइ कार्यक्रममा सहभागी हुनु।
त्यहाँ पत्रकार सम्मेलन गरेर २०२४/२५ सिजनका लागि अनुबन्ध भएकी एञ्जिलालाई विशेष सम्मानसहित बिदाईको कार्यक्रम राखिएको रहेछ। बिदाई कार्यक्रममा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ र फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामालगायत नेपाली खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
सोही पत्रकार सम्मेलनमा फिल्मको वर्ल्ड प्रिमियर मङ्सिर २३ (डिसेम्बर ८) मा हङकङमा आयोजना गरिने भन्दै जानकारी गराइयो। फिल्मका निर्देशक मिलन चाम्स र एञ्जिला सुब्बा प्रिमियरमा सहभागी हुनेछन्। निर्माण पक्षकाअनुसार यो फिल्मबाट उठेको रकमबाट एञ्जिलाका लागि काठमाडौंमा घर निर्माण गरिनेछ।
फिल्म ‘अञ्जिला’मा कप्तान एञ्जिला सुब्बाको जीवन संघर्ष र सफलतामा आधारित छ। उनकै प्रमुख भूमिका रहेको यो फिल्ममा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन्। तर, यि कलाकारहरू कोही पनि आजको कार्यक्रममा उपस्थिति भएनन्।
दयालगायतको टिम नयाँ फिल्मको छायांकनमा छन्। सायद यसैले गर्दा उनीहरू कार्यक्रममा उपस्थित भएनन्। तर, निर्माण पक्षले यसबारे जानकारी गराएन।
यस फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन्। सुदीप बरालले खिचेको यो फिल्मलाई सम्पादन मिलन श्रेष्ठले गरेका छन्।
मंसिर १९, २०८१ बुधबार २१:१८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।