एनपिएल चौथो दिन : शिखरले बनाएको चुनौती करणले पार गरे, लोकेशको ब्याटिङले लुम्बिनीलाई विराटनगरको झड्का

एनपिएल चौथो दिन : शिखरले बनाएको चुनौती करणले पार गरे, लोकेशको ब्याटिङले लुम्बिनीलाई विराटनगरको झड्का

काठमाडौँ : प्लेअफ अगाडिका सात खेलमध्ये लगातार दुई खेल गुमाएको विराटनगर बुधवार तेस्रो प्रतियोगितामा ब्याटिङका लागि लुम्बिनीविरुद्ध मैदानमा उत्रिदा जितको चुनौती थियो एक सय ९२। यस अगाडिका दुवै खेलमा निकै फितलो प्रदर्शन गरेर खेल गुमाएको टिमका लागि यो अङ्क पार गर्न कठिन देखिएको थियो।

तर खेल हो, त्यो पनि टी २० फर्म्याटको। दुई खेलबाट निराश बनाएका आफ्ना प्रशंसकहरूलाई मात्रै हैन, विरोधीहरूलाई पनि ताली बजाउन लायक प्रदर्शन गर्दै विराटनगरले विशाल लक्ष्य चुनौतीका साथ पार गर्यो।

यसका लागि एकै बल भए पनि उसले पुरै २० ओभर पनि खेल्नु परेन। १९.५ ओभरमा ८ विकेट गुमाएर लिगको पहिलो खेल खेलेको लुम्बिनीलाई दुई नम्बर जोड्न दिएनन् विराटनगरका खेलाडीले।

विराटनगरका क्याप्टेन सन्दीप लामिछाने बलिङ अनि ब्याटिङ दुबैतर्फ फर्ममा छैनन्। सन्दीप फर्ममा नभए पनि टिमलाई तेस्रो खेल हार्नबाट जोगाउन विराटनगरका लोकेश बमले महत्त्वपूर्ण भूमिका निभाए। उनले ४७ बलमा ३ चौका र ६ छक्का हानेर सर्वाधिक ७१ रन जोडेका थिए।

मार्टिन गप्टिलले १७ बलमा ६ चौकासहित २८ रन जोडेर टिमले पाएको लक्ष्य पुरा गर्न महत्त्वपूर्ण भूमिका निभाए। अर्का खेलाडी बसिर अहमदले २३ बलमा ४० रन जोडे। राजेश पुलामीले १० बलमा ४ रन बनाए।  निकोलस कीर्तन शून्यमै आउट भएका थिए। प्रतिस जिसीले ३ बलमा ६ रन बनाए। क्रिस सोलले ४ बलमा नट आउट रहँदै १४ रन बनाएर टिमलाई पहिलो जित दिलाए।

तस्बिर : कृष्पा श्रेष्ठ।ब्याटिङमा जसरी लुम्बिनीका खेलाडी जमेका थिए बलिङमा जम्न सकेनन्। त्यसैले एक सय ९२ को लक्ष्य दिए पनि विराटनगरलाई रोक्न सकेनन्।  लुम्बिनीका दुर्गेशले ३ विकेट लिँदा साद बिन जाफर र रामोन सिमन्सले समान २ विकेट लिएका थिए। विवेक यादवले १ विकेट लिए।

टस हारेर ब्याटिङ गर्न मैदानमा उत्रिएको लुम्बिनीले पुरै २० ओभर खेल्दा ७ विकेट गुमायो। उसले १ सय ९१ रन बनाएको थियो। यो बलियो नै चुनौती थियो। लुम्बिनीको तर्फबाट कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए। टोम मुर्सले ३० रन बनाए।

आशुतोष घिरैयाले १५, अर्जुन साउद १७,सन्दीप जोरा १२ र साद बिन जाफरले १५ रन बनाउँदा विवेक १९ रनमा नट आउट रहेका थिए। विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप र राजेश पुलामी मगरले समान १ विकेट लिएका थिए। लुम्बिनीका ४ खेलाडी रन आउट भएका थिए।

काठमाडौँलाई टक्कर, तर जित निस्किएन कर्णालीको

लिगको दोस्रो खेलका लागि बुधवार काठमाडौँ गुर्खाज्को चुनौती सामना गर्न मैदानमा उत्रिएको कर्णाली याक्सका खेलाडीले राम्रो प्रदर्शन गरे। तर प्रदर्शन राम्रो भए पनि जित भने निस्किएन।

कर्णालीले काठमाडौँलाई १ सय ५० रनको लक्ष्य दिएको थियो। काठमाडौँले १९.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्दै लिगको पहिलो जित निकाल्यो। काठमाडौँका सुमित महर्जनले नट आउट रहँदै टिमका लागि सर्वाधिक ४० रन बनाएका थिए।

काठमाडौँका लागि जेहार्ड एरास्मसले ३८ रन बनाएका थिए। ओपनर माइकल लेभिटले २२ रन जोडेर टिमलाई लक्ष्य पुरा गर्न सहज बनाए। करण २८, शङ्कर ६, स्टेसन स्किनाजी ३, भीम सार्कीले ९ रन बनाए। टिमका ब्याटर एकपछि अर्को बलमा मैदान बाहिर गइरहेको बेलामा मैदानमा आएका कप्तान करणले विस्फोटक ब्याटिङ गरेर जित निकालेका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ बनाउन शिखर धवनको विस्फोटक ब्याटिङले निकै साथ दियो। ओपनर धवनले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडे। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।

चाल्डिक वाल्टनले २१ रन जोडेका थिए। बाबर हायत १३, गुलशन झा १२ र जिशान मक्सुदले १४ रन बनाएका थिए। काठमाडौँका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले १-१ विकेट लिएका थिए।

बिहीबार एनपिएलमा पहिलो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ भने दोस्रो खेल काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच रहेको छ।

मंसिर १९, २०८१ बुधबार १९:५६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।