उपनिर्वाचनमा आफ्नै वडा जिताउन नसकेका प्रकाशमानले भने 'कांग्रेस अहिले पनि जनताको मनमा रहेछ'

उपनिर्वाचनमा आफ्नै वडा जिताउन नसकेका प्रकाशमानले भने 'कांग्रेस अहिले पनि जनताको मनमा रहेछ'

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिकामा सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेस सुदृढ हुँदै गएको दाबी गरेका छन्। आज कीर्तिपुरमा आयोजित सभामा उनले कीर्तिपुरले राजनीतिकरूपमा देशलाई नै सन्देश दिएको जिकिर गरे।

'राजधानीको कीर्तिपुरजस्तो ठाउँ, जहाँ विश्वविद्यालय छ, राजनीतिकरूपमा सचेत ठाउँ। यहाँबाट कांग्रेसको दिन अब झन सुदृढ हुँदै छ भन्ने सन्देश गएको छ, नेपाली कांग्रेसका नेतासमेत रहेका उनले भने।  

प्रकाशमान सिंह आफैंले मतदान गरेको काठमाडौं-१६ को वडाध्यक्ष पनि कांग्रेसले हार्यो। जबकी यो वडा यसअघि दुईपटक कांग्रेसले जितेको थियो। तर, पहिलोपटक स्थानीय चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रोजिना श्रेष्ठले वडाध्यक्ष जितिन्।

तर, सिंहले भने कीर्तिपुरमा मेयरका लागि ११ जना रहे पनि पार्टीले उमेदवारको निर्णय गरेपछि सबै एक भएर लाग्दा परिणाम पार्टीको पक्षमा आएको बताए।

'नगर प्रमुख र दुई वडाध्यक्षको नतिजाले कांग्रेस अहिले पनि जनताको हृदय र मनमा रहेछ भन्ने कुरा देखाएको छ, उनले भने। 

यस उपनिर्वाचनमा संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसलाई धक्का लागेको देखियो। सत्तारुढ कांग्रेसले यसअघिका आफ्नै सिट जोगाउन सकेन। उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रसकै रिक्त थियो। 

०७९ मा आफूले जितेको मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिकाको अध्यक्ष कांग्रेसले बचाउन सकेन। अझ  ग्रामथान गाउँपालिका अध्यक्षमा त कांग्रेसबाटै माओवादी प्रवेश गरेका नमोनारायण माझीले जिते। महाबु गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसकै सिट एमालेले खोस्यो। २०७९ को चुनावमा एमालेलाई नै कांग्रेसले हराएका थिए।

मंसिर १९, २०८१ बुधबार १९:४४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।