उपनिर्वाचनमा लाजमर्दो भोट आएपछि राप्रपाले भन्यो 'जनताले भोटै हालेनन्'
काठमाडौं : गएको आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनबाट संसद्को पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले लजास्पद मत पायो। ०७९ मा भएको संसदीय चुनावमा अप्रत्याशित मत पाएको संसद्को पाँचौ ठूलो शक्ति बन्दैगर्दा हौसिएको राप्रपा यसपटक भने नराम्रोसँग निरुत्साहित बन्यो। उपनिर्वाचनको समग्र मत परिमाणले राप्रपालाई जनताले नपत्याएको देखाउँछ।
उपनिर्वाचनमा नेपाली कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो हुँदा राप्रपाले देश भरका ८ स्थानमा १० मत पनि कटाएन। धेरै ठाउँमा उसका उम्मेदवारले जमानत जोगाउन सकेनन्। जमानत जोगिन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ।
आफूलाई भ्रष्टाचार विरोधी मान्ने राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपाको त झन् हालत खराबी देखियो। लिङ्देनकै गृह जिल्ला झापामासमेत राप्रपाले लाजमर्दो हार व्यहोर्नुपरेको छ। झापाको कन्काई नगरपालिका-६ को वडा अध्यक्ष पदमा राप्रपाले जम्मा २६ मत प्राप्त गरेको छ। यहाँ राप्रपाले उम्मेदवार बनाएको नारायणप्रसाद सिटौला पाँचौँ स्थानमा रहे।
धेरै स्थानमा जित्ने दाबी गरेको राप्रपाका उम्मेदवारको अधिकांश स्थानमा जमानत नै जफत भए। त्यतिमात्र हैन, मुसिकोट-१, लालीगुराँस-८, गढीमाई-८ लगायतका ७ जना उम्मेदवारले त १० मत पनि कटाएनन्। ओखलढुंगाको मोलुङ गाउँपालिका-५ त राप्रपाका उम्मेदवार चन्द्रमणि दाहाल पाँचौँ स्थानमा रहँदै ३ मत प्राप्त गरे।
कुनै बेला राप्रपाको गढ मानिने हेटौंडा उपमहानगरपालिका-१२ मा उक्त पार्टीका वडाध्यक्ष उमेदवार प्रेमबहादुर भोलनले १७८ मत पाए। उनको पनि जमानत जफत भयो। त्यसपछि भने राप्रपाले अनौपचारिक रूपमा उपनिर्वाचनको समीक्षा गर्न थालेको छ।
उपनिर्वाचनको मत परिमाणबारे उपाध्यक्ष तथा संसदीय दलका उपनेता बुद्धिमान तामाङ उपचुनावमा जनताले भोटै नहाल्दा आफ्नो पार्टीको मत कम आएको बताए।
'जसको पार्टी संगठन बलियो छ, उसका कार्यकर्ता र त्यससँग जोडिएका व्यक्तिले भोट हाले, अरूले भोटै हालेनन्। यसपटक जनताले त झन् भोट नै हालेनन्। उनीहरू यो व्यवस्थाप्रति वाक्क दिक्क छन्, उनले भने।
तर, राप्रपाले पाएको मतलाई भने उपलब्धिका रूपमा लिएको उनले सुनाए।
मंसिर १९, २०८१ बुधबार १९:०८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।