तीन दिनअघि घाँस काट्न जंगल गएकी १८ वर्षीय युवतीको शव भेटियो, हत्या भएको हुनसक्ने
काठमाडौं : गोरखाको बारपाकस्थित जंगलमा १८ वर्षीय युवतीको शव भेटिएको छ।
घाँस काट्न जंगल जाँदा बेपत्ता भएकी बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ की सुचिना घलेको शव भेटिएको हो।
मंसिर १५ मा घाँस काट्न भन्दै स्थानीय स्युङमान पाखा जंगल गएकी उनी त्यस दिन घर फर्किएकी थिइनन्। त्यसपछि खोजी गर्ने क्रममा केही भाग गाडेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
घाँस काट्न गएकी घले घर नफर्केपछि खोजीका लागि परिवारले बारपाक प्रहरी चौकीमा खबर गरेका थिए। त्यसपछि बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीहरू पनि खोजीमा गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ईन्द्रप्रसाद सुवेदीले बताए।
उनका अनुसार युवतीको शव भेटिएको ठाउँनजिकै काटेका घाँसका स-साना मुठा फेला परेका थिए। साथै घटनास्थल नजिकै डोको, रगत र कपालसमेत फेला परेको थियो।
युवतीको हत्या भएको अनुमानमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहित विशेषज्ञ टोली झिकाएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
मंसिर १९, २०८१ बुधबार १८:४७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।