एनपिएलको मैदानमा अनलाइन जुवाको प्रचार रोक्न गृहमा प्रहरीको पत्र, प्रवक्ता भन्छन् ‘त्यस्तो भए कारबाहीको दायरामा आउँछन्’

एनपिएलको मैदानमा अनलाइन जुवाको प्रचार रोक्न गृहमा प्रहरीको पत्र, प्रवक्ता भन्छन् ‘त्यस्तो भए कारबाहीको दायरामा आउँछन्’

काठमाडौँ : टीयू क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिगमा आयोजकले नै अनलाइन जुवा र सट्टेबाजी प्रवर्धन गरेको देखिएको भन्दै यसलाई रोक्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्र पठाएको छ।

एनपिएलको आयोजक नेपाल क्रिकेट लिगले मैदानमै वुल्फत्रिपलसेभेनको सरोगेट वुल्फत्रिपलसेभेनन्युजलाई प्रयोजक बनाएर मैदानमा विज्ञापन राखिरहेको छ। एनपिएलमा सहभागी आठ टिममध्ये लुम्बिनी लायन्स, विराटनगर र सुदूरपश्चिमले पनि जर्सीमा जुवा खेलाउने कम्पनीको सरोगेट नामको प्रयोग गरिरहेका छन्।

प्रहरी प्रधान कार्यालयले एनपिएलको खेलस्थलको स्थलगत अनुगमनमा आयोजक क्यानले अनलाइन जुवाको प्रचार प्रसार गरेको देखिएको र सो विद्यमान नेपालको कानुन विपरीतको गतिविधि भएकाले तत्काल रोक्न आवश्यक रहेको भन्दै तालुकवाला युवा तथा खेलकुद मन्त्रालयसँग आवश्यक समन्वय गर्न गृहमा पत्र पठाएको हो।

लुम्बिनीले अनलाइन जुवा प्रवर्धन गर्न खेलाडीको जर्सीमा राखेको विज्ञापन। बुधबारको खेलमा लुम्बिनी विराटनगरसँग पराजित भएको थियो। तस्बिर : कृष्पा श्रेष्ठ‘नेपालको कानुनले कुनै पनि प्रकारको जुवा खेल्न, खेलाउन र प्रवर्धन गर्न रोक लगाएको छ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले उकेरासँग भने ‘नेपाल क्रिकेट लिगको मैदानमा खेल सम्बन्धी जुवा खेलाउने र सट्टेबाज गराउने कम्पनीको प्रवर्धन गरिरहेको देखिएकाले त्यसलाई रोक्न गृह मन्त्रालयमा पत्राचार गरेका छौँ।’

क्यानले नै अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनीको विज्ञापन गरेपछि एनपिएलमा सहभागी अन्य टिमले समेत जुवा खेलाउने सरोगेट कम्पनीको लोगो राखेर जुवा प्रवर्धन गरिरहेका छन्। बुधवार भएको खेलमा लुम्बिनी लायन्सले जर्सीको पछाडि बेटिङ वेबसाइट ‘बाबु८८’को सरोगेट कम्पनी ‘बाबु८८ स्पोर्ट्स’को विज्ञापन राखेको छ।

अर्को टिम सुदूरपश्चिम रोयल्सले पनि आफ्नो जर्सीमा ‘बाबु८८’को सरोगेट कम्पनी ‘बाबु८८ स्पोर्ट्स’को प्रचार गरेको छ भने  विराटनगर किंग्सले बेटिङ वेबसाइट ‘बिजे८८’को सरोगेट कम्पनी ‘बिजे८८ स्पोर्ट्स’को प्रचार गरिरहेको छ।

यी कुनै पनि कम्पनी खेलकुदको समाचार केन्द्रित हैनन्। यिनीहरूले कानुनी रूपमा अनलाइन जुवा प्रतिबन्ध रहेको देशमा आफ्नो जुवा खेलाउने ब्रान्डको प्रचार गराउन यस्ता सरोगेट नामको प्रयोग गर्ने गरेका छन्। उकेराले यसबारे प्रमाणसहित निरन्तर समाचार प्रकाशित गरिरहेको छ।

यसबारे गृहमा बुझ्दा प्रवक्ता ऋषिराम तिवारीले नेपालको कानुन सबैले पालना गर्नुपर्ने भन्दै नेपालमा जुवा खेल्ने, खेलाउने र प्रवर्धन गर्न नपाइने बताए।

‘यदि कसैले यस्तो गरिरहेको देखिएमा कारबाहीको दायरामा आउँछन्’ उनले बुधवार उकेरासँग भने ‘यसबारे खेलकुद मन्त्रालयसहित सरोकारवालाहरूसँग तत्काल छलफल हुन्छ।’

युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता सुवासचन्द्र शिवाकोटीले नियमसंगत रूपमा काम हुनुपर्ने भन्दै एनपिएलबाट अनलाइन जुवाको प्रचार प्रसार भएको हो भने यस विषयमा ‘मन्त्रीज्यू’सँग परामर्श गरेर राष्ट्रिय खेलकुद परिषद् र क्रिकेट एसोसिएसन अफ नेपालका प्रतिनिधिसँग छलफल गर्ने बताए।

क्यानले गत शनिवारबाटै मैदानमा वुल्फत्रिपलसेभेनको विज्ञापन मैदानको मुख्य स्थानमा राखेर प्रचार गरिरहे पनि क्यानको गतिविधिबारे नियमन गर्ने जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले भने थाहै नपाए जस्तै गरे।

लिगको उद्घाटन खेलमा सहभागी भएका घिसिङले उकेरासँग भने ‘यो विषय मलाई थाहा छैन। क्यानसँग बुझ्छौ।’

उपत्यकामा हुने गम्भीर प्रकृतिको अपराधको अनुसन्धान गर्ने निकाय काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार र मङ्गलवार टीयू क्रिकेट मैदानको अनुगमन गरेर क्यानले अनलाइन जुवाको प्रवर्धन गरेको निष्कर्ष निकाल्दै क्यान पदाधिकारीहरूसँग छलफल गरेको थियो।

एनपिएल आयोजक समितिका संयोजक पारस खड्का,  क्यानको इन्ट्रिगिटी कमिटीमा प्रमुख नेपाल प्रहरीका पूर्व डिआइजी ईश्वरबाबु कार्कीसहित भएको छलफलमा उनीहरूले यो अन्तर्राष्ट्रिय अभ्यास भएको तर्क गरेका थिए।

प्रहरीले नेपालको कानुनले प्रतिबन्ध लगाएको विषय नेपालमा भएको खेलमा प्रयोग हुन नसक्ने भन्दै तत्काल मैदानबाट वुल्फत्रिपलसेभेनको विज्ञापन हटाउन आग्रह गर्दा क्यान सचिव पारस खड्काले ‘प्रहरी प्रधान कार्यालयबाट पत्र आए हटाउँला’ भन्ने जवाफ दिएका थिए।

यो पनि:-

मंसिर १९, २०८१ बुधबार १८:३१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।