समय नपुगि कर्मचारीलाई सरूवा गरेको भन्दै सहरी विकास मन्त्रालयको गेट अगाडि धर्ना
काठमाडौं : स्वतन्त्र निजामती कर्मचारी अभियानको केन्द्रीय संयोजक पशुपति पोखरेलले मंसिर १७ देखि सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेका छन्।
उनले सहरी विकास मन्त्रालयले समय नपुगि कर्मचारीलाई सरुवा गर्ने काम गरेको भन्दै मंसिर १७ देखि आजसम्म निरन्तर रुपमा दिनको ४ घण्टा धर्ना बस्ने गरे।
उनले भने, ‘मंसिर १७ देखि दिनको ११ बजेदेखि ३ बजेसम्म सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छु। सहरी विकास मन्त्रालयले समय नपुगिकन कर्मचारीलाई सरुवा गर्ने काम गर्छ। डिजिदेखि आयोजना प्रमुखहरू फेरेर विकासको काम गर्नुपर्ने ठाउँमा कर्मचारीलाई उथलपुथल पारेर लेनदेनको काम गरेर कर्मचारीको सरुवा गर्ने काम गर्छ।’
निश्चित मापदण्ड बनाएर सरुवा गर्ने काम गर्नुपर्ने भन्दै ऐन नियमविपरीत गरिएका, सरूवाहरू बदर गर्नुपर्ने पनि उनको माग छ।
उनले भने, ‘यसलाई निश्चित मापदण्ड बनाएर सहरी विकास मन्त्रालयले यस्ता काम गर्नुपर्छ भनेर यहाँ बसेको छु। कर्मचारीहरूलाई राम्रो तरिकाले काम गर्न दिनुपर्छ। ऐन नियमविपरीत गरिएका, अवधि नपुगि गरेका सरूवाहरू बदर गर्नुपर्छ।’
उनले विकास गर्ने मन्त्रालय विकासको बाटो छोडेर हिँडेको भन्दै सुशासनको लागि धर्ना बसेको पनि बताए।
उनले भने, ‘सहरी विकास मन्त्रालय भनेको एउटा विकास गर्ने मन्त्रालय हो। विकासको बाटो कोर्नुपर्ने ठाउँमा कर्मचारीको सरुवा तिर लागि रहेको छ। यस कारण सुशासनको लागि म यसरी धर्ना बसेको छु।’
मंसिर १९, २०८१ बुधबार १७:३६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।