दुई खेल हारेपछि बल्ल जित्यो विराटनगरले, तेस्रो खेलमा लुम्बिनीमाथि रोमाञ्चक जित
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ। हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको हो।
बुधबारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए। दोस्रो विकेटका लागि बम र मार्टिन गप्टिलले ६२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे। गप्टिल दुर्गेश गुप्ताको बलमा बोल्ड आउट भए।
पहिलो ओभरको अन्तिम बलमा रामोन्स सिमोण्डसको बलमा विराटनगरका ओपनर इस्मात आलाम रनको खाता नखोल्दै आउट भए।
बसिर अहमदले २३ बलमा चौका र छक्काको सहयोगमा ४० रन जोडे। बसिर दुर्गेश गुप्ताको बलमा बेन कटिङबाट क्याच आउट भए।
बसिरलाई १५औं ओभरको अन्तिम बलमा १७ बलमा २८ रन बनाएको अवस्थामा साद विन जाफरको बलमा सन्दीप जोराले क्याच मिस गरेका थिए।
राजेश पुलामीले १० बलमा ४ रन जोडे। राजेश साद विन जाफरको बलमा कट एन्ड बोल्ड भए। राजेश आउट भए लगत्तै क्रिजमा आएका निकोलस कीर्तनलाई दुर्गेशले पहिलो बलमा नै बोल्ड आउट गराए। प्रतिस जिसी ३ बलमा ६ रन बनाउँदै गुप्ताको बलमा बोल्ड आउट भए। क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए।
लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो।
प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो।
मंसिर १९, २०८१ बुधबार १६:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।