चितवनमा रविको रिहाइको मागमा प्रदर्शन गर्ने १६ जना रास्वपा कार्यकर्ता घाइते, प्रहरीसँगको झडपमा ८ प्रहरी पनि घाइते

चितवनमा रविको रिहाइको मागमा प्रदर्शन गर्ने १६ जना रास्वपा कार्यकर्ता घाइते, प्रहरीसँगको झडपमा ८ प्रहरी पनि घाइते

चितवन : चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परेर आठ प्रहरी घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरूद्ध गर्न खोज्दा झडप भएको हो। प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो। 

घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। 

'प्रहरीले बल प्रयोग गरेको छैन। प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन्, एसपी मिश्रले भने। 

उनका अनुसार जिल्ला प्रहरी कार्यालय अगाडि सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको हो। 
 
प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए। घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको छ। 

रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ। साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मङ्गलबार काठमाडौँबाट चितवन ल्याएको हो। 

साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप उनीमाथि छ।  

मंसिर १९, २०८१ बुधबार १६:३७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।