कानून मन्त्रालय र अख्तियारको सरकारी नम्बर प्लेट लगाएका दुई गाडीहरूबाट ६९० केजी गाँजा बरामद, एक पक्राउ

कानून मन्त्रालय र अख्तियारको सरकारी नम्बर प्लेट लगाएका दुई गाडीहरूबाट ६९० केजी गाँजा बरामद, एक पक्राउ

काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिका-१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ। 

सरकारी नम्बर प्लेट भएका दुई गाडीहरूमा लुकाएर ओसारपसार हुँदै गरेको उक्त गाँजा प्रहरीको कडा निगरानीमा फेला परेको हो।

प्रहरीका अनुसार, बा.१ झ ४६०५ नम्बरको स्कोर्पियो गाडीबाट ३ सय ३० किलोग्राम गाँजा बरामद गरिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो गाडीको नम्बर प्लेट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बरसँग मिलेको छ।

गाडीका चालक ३६ वर्षीय श्याम कुमार विकलाई पक्राउ गरिएको छ। उनी मोरङका निवासी हुन्। 

अर्को गाडी, बा.१ झ ५१२७ नम्बरको स्कोर्पियो पनि प्रहरीले तलासी गर्दा ३ सय ६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ। यो नम्बर प्लेट भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडीसँग मेल खाएको छ। तर, यकिन भने भइनसकेको प्रहरीले बतायो। 

गाडीहरूमा गाँजा लुकाएर ढुवानी भइरहेको भन्ने सूचना प्राप्त भएसँगै प्रहरी टोलीले तत्काल छानबिन सुरू गरेको थियो। विकलाई पक्राउ गर्दा गाडीको चालक भाग्न सफल भएको थियो, तर पछि सोही गाडी फेला पारेर तलासी गर्दा गाँजा समातिएको थियो।

अमरहाटमा प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा गाडी र चालक नियन्त्रणमा लिन चार राउन्ड गोली समेत फायर गर्नुपरेको थियो। गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरी चेकिङलाई नै ठक्कर दिनेगरी तस्करले गाडी भगाएपछि चार राउन्ड गोली फायर गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए। 

प्रहरीले फरार चालकको खोजी भइरहेको र यस घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ।

मंसिर १९, २०८१ बुधबार १६:०२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।