प्रचण्डलाई ‘गणतन्त्र नायक’को सम्मान
काठमाडौं : गणतन्त्र सेनानी कोषले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ।
देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे 'जनयुद्ध'को पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइ पुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरूलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरू गरेको हो।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीसमेत रहेका प्रचण्डका अलावा कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरू नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ।
कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र संस्कृतिकर्मीलाई पनि सम्मान गरेको छ।
बागमतीबाट सुरू गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउँदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए।
मंसिर १९, २०८१ बुधबार १५:००:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।