जुवा अड्डा बन्दै त्रिवि मैदान, लुम्बिनीको जर्सीबाट पनि सट्टेबाजीको प्रचार

जुवा अड्डा बन्दै त्रिवि मैदान, लुम्बिनीको जर्सीबाट पनि सट्टेबाजीको प्रचार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो खेल खेलेको लुम्बिनी लायन्सले पनि जुवाको प्रचार गरेको छ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तनीमा रहेको टोलीको जर्सीमा बेटिङ वेबसाइट ‘बाबु८८’को सरोगेट कम्पनी ‘बाबु८८ स्पोर्ट्स’को प्रचार गरेको हो।

लुम्बिनी मात्र होइन, सुदूरपश्चिम रोयल्सले पनि आफ्नो जर्सीमा ‘बाबु८८’को सरोगेट कम्पनी ‘बाबु८८ स्पोर्ट्स’को प्रचार गरेको छ।

यसका अलावा विराटनगर किंग्सले बेटिङ वेबसाइट ‘बिजे८८’को सरोगेट कम्पनी ‘बिजे८८ स्पोर्ट्स’को प्रचार गरिरहेको छ।

फ्रेन्चाइजी टोलीले मात्र होइन, एनपीएल आयोजक नेपाल क्रिकेट संघले नै ‘वुल्भ७७७’को सरोगेट कम्पनी ‘वुल्भ७७७न्यूज’को प्रचार त्रिवि क्रिकेट मैदानमार्फत गरिरहेको छ।

उकेराले यसअघि पनि क्यानले कसरी त्रिवि क्रिकेट मैदानलाई जुवाको अड्डा बनाइरहेको छ भन्नेबारे समाचार सम्प्रेषण गरेको थियो। क्यानले अनलाइन जुवा खेलाउने र बेटिङ गराउने वुल्फ७७७को सरोगेट कम्पनी वुल्फ७७७न्युजलाई लिगको स्पन्सर बनाएर मैदानमै विज्ञापन राखेको छ।

वुल्फ७७७ले नेपालमै प्रतिनिधि खटाएर कसरी अवैध जुवा खेलाइरहेको छ भन्नेबारे उकेराले एक्सक्लुसिभ समाचार प्रकाशित गरेको थियो।

मंगलबार मात्रै त्रिवि क्रिकेट मैदानबाटै प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भारत कोलकाताको सुनिल घोष अनि उत्तर प्रदेशका अमित यादवलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रमुख एआईजी दीपक थापाका अनुसार एनपीएलमा हुने खेलहरूमा अनलाइन जुवा खेलाउन उनीहरू एक महिना अगाडिबाट नेपाल आएर तयारी गरेको खुलेको छ।

यो पनि:-

मंसिर १९, २०८१ बुधबार १३:३५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।