धान काट्न मजदुरको सट्टा रिपर मेसिन !

धान काट्न मजदुरको सट्टा रिपर मेसिन !

जलेश्वर : महोत्तरीको सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ।

धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर नगरपालिका-९ का किसान जितेन्द्र सिंहले बताए।

चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन हुने उनले बताए।

उक्त मेसिनले एक घण्टामा १० कठ्ठामा लगाइएको धानबाली काट्ने गरेको जलेश्वर नगरपालिका-८ का अर्का किसान अरुण पाण्डेले बताए।

रिपर मेसिन आउनुभन्दा अगाडि किसानले उक्त खेतमा लगाएको धान काट्न दुई-तीन लाग्ने गरेको बताए।

रिपर मेसिन प्रयोग हुनुअघि धान भित्र्याउन धेरै जनशक्ति आवश्यकता पर्ने गरेकामा हाल एक जना मेसिन चलाउने र एक जना काटिएको धान जम्मा गर्ने श्रमिक भए पुग्ने मेसिन प्रयोग गर्नुभएका जलेश्वर नगरपालिका-६ का किसान दिनेश मण्डलले बताए।

रिपर मेसिनले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव हुने समस्या समाधान भएकाले किसानले आफ्नो बिघौँबिघामा लगाएका धान भित्र्याउन रिपर मेसिन वरदान सावित भएको जलेश्वर नगरपालिका-२ का किसान अनिल साहले बताए।

रिपर मेसिनको मूल्य स्थानीय बजारमा दुई लाख १५ हजार रुपैयाँ पर्ने उनले जानकारी दिए।

मंसिर १९, २०८१ बुधबार ११:३७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।