एनपिएलको माहौलमा वानएक्सबेटको सरोगेट कम्पनी प्रमोट गर्दै कमेडियन सजन, युट्युब च्यानलमा विज्ञापन र प्रोमोकोड
काठमाडौँ : युट्युबमा रोस्ट भिडियो बनाउँदै स्ट्याण्डअप कमेडियन बनेका सजन श्रेष्ठले आफ्नो युट्युब च्यानलमा मङ्गलवार नयाँ रोस्ट भिडियो राख्दा त्यसलाई वानएक्सबेटले स्पोन्सर्ड गरेको खुलाएका छन्।
उनले भिडियोको प्रारम्भमै वानएक्सब्याट खेल सम्बन्धी विविध समाचार पढ्न सकिने दाबी गर्दै भने ‘अहिले एनपिएल पनि चलिरहेको छ र त्यसको रिजल्ट र न्युजहरू वानएक्सब्याटको साइटमा पढ्न सकिन्छ।’
उनले सो भिडियोको तल विस्तृत विवरण राख्दा वानएक्सब्याटस्पोर्टिङ नामको लिङ्क राखेका छन्। उनी सो लिङ्कसँगै आफ्नो प्रोमो प्रयोग गर्न आफ्ना भ्यूअर्सहरुलाई अनुरोध गर्दै ‘ प्रोमो कोड प्रयोग गरे गिफ्ट ह्याम्पर पनि पाउन सकिन्छ’ भन्दै लोभ देखाउँछन्।
यो यही साइट हो जसले नेपालको खेलमा प्रभाव पारेको भनेर क्रिकेट एसोसिएसनले आफ्नो प्रतियोगितामा स्पोन्सर बनाउन छाडेको थियो। क्यानका प्रवक्ता छुम्बी लामाले उकेरासँग खेलमै चलखेल गरेकाले योसँग सहकार्य गर्न छाडेको बताएका थिए।
प्रहरीले पछिल्लो समय नेपालमा बसेर जुवा खेलाउने वानएक्सबेटका एजेन्ट समातिरहेकै छ। गत बुधवार ललितपुरमा एक एजेन्ट समातेर अनुसन्धान गरिरहेको छ।
तर सजन निर्धक्क आफ्नो युट्युब च्यानलबाट नेपालमा खेल सम्बन्धी जुवा खेलाउने अनि सट्टा गराउन बदनाम वानएक्सबेटको सरोगेट साइटलाई प्रमोट गरिरहेका छन्।
नेपालको कानुनले जुवा खेल्न, खेलाउन अनि खेल्न प्रोत्साहित गर्न प्रतिबन्धित छ। तर कमेडियन सजन आकर्षक गिफ्ट ह्यापर आउँछ भनेर आफ्नो साइटबाट जुवालाई प्रवर्धन गरिरहेका छन्।
उनले भिडियोमा अहिले चलिरहेको नेपाल प्रिमियर लिगलाई क्यास गर्दै वानएक्सब्याटमा एनपिएलको समाचारहरू समेत रहेको दाबी गर्छन्। तर साइटमा गएर हेर्दा एनपिएल सम्बन्धी एउटा पनि समाचार फेला परेन। अर्थात् उनले जुन साइटको प्रमोट गरिरहेका छन् त्यसमा के-के छ भनेर हेरेको देखिएन।
यो समाचारलाई प्राथमिकता दिने भन्दापनि समाचारको आवरणमा वानएक्सबेटको अनलाइन जुवा प्रवर्धन गर्ने साइट हो। यसले पहिला वानएक्सब्याट, वानएक्सन्युज नाममा सरोगेट कम्पनीहरू चलाएर जुवा प्रतिबन्धित रहेका नेपाल, भारत लगायतका देशमा जुवा खेल्न प्रोत्साहित गर्ने गरेको थियो। नेपालको खेलहरूमा समेत यसको प्रभाव देखिन्थ्यो।
वानएक्सबेटका एजेन्टहरू पक्राउ पर्ने क्रम बढ्नु अनि वानएक्सबेटले खेलको नतिजामै चलखेल गराउने गरेको देखिएपछि अहिले नेपालमा हुने खेलमा औपचारिक रूपमा वानएक्सबेटको सरोगेट कम्पनीहरूको विज्ञापन बन्द भएको थियो।
अहिले उही कम्पनीले वानएक्सन्युज अनि वानएक्सब्याटको नाम छाडेर वानएक्सस्पोर्टिङको आवरणमा वानएक्सबेटको प्रचार गरिरहेको छ। सजनले जानजान जुवाको प्रचार गरेको पुष्टी हुने तथ्य उनले नै राखेको प्रोमोकोडबाट पुष्टी हुन्छ। नत्र समाचार पढ्न लागि किन चाहियो प्रोमो कोड? त्यो कोड समाचारमा कहाँ प्रयोग गर्ने?
नेपालको खेलहरूमा विज्ञापन गर्न नसकेपछि अहिले युवामाझ प्रभाव पार्नसक्नेहरुको सहयोग लिइरहेको देखियो। अनि व्यङ्ग्यमार्फत समाजको विकृतिमाथि हमला गर्ने सजन आर्थिक फाइदाका लागि जुवा फैलाउन तयार भएको देखियो।
गत वर्ष प्रहरीले आफ्नो युट्युब च्यानलहरूमा वानएक्सबेटलाई प्रवर्धन हुनेगरी उसको सरोगेट कम्पनीको प्रोमोकोडहरु राखेको आरोपमा कमेडियन र कलाकारहरू पक्राउ गरेको थियो। तर यो क्रम अझै नरोकिएको सजनको भिडियोले पुष्टि गर्यो।
मंसिर १८, २०८१ मंगलबार २२:०५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।