उपनिर्वाचन कर्णाली : ‘जनताले साइजमा ल्याइदिए’ भनेर कांग्रेसले चित्त बुझायो, २ पालिका जित्दा पनि माओवादी असन्तुष्ट
सुर्खेत : आइतबार सम्पन्न स्थानीय तहमा उपनिर्वाचनमा आठ पदका लागि ४३ जना उम्मेदवार थिए। जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो।
मत परिमाणअनुसार एक गाउँपालिका अध्यक्षमा एमाले, एक गाउँपालिका उपाध्यक्ष र एक नगर उपप्रमुखमा माओवादीले जित्दा कांग्रेसले भने वडामा नै चित्त बुझाएको छ। ५ वडा मध्ये नेपाली कांग्रेसले दुई, नेपाल मजदुर किसान पार्टी, एमाले र माओवादीले समान एक/एक वडा जितेका छन्।
कर्णालीमा मुलत: नेपाली कांग्रेस, एमाले र माओवादीको प्रतिस्पर्धा भएको मत परिमाणले देखाउँछ। तर, रास्वपा र नेपाल मजदुर किसान पार्टीले पनि निर्वाचनमा भाग लिएका भने थिए। एकीकृत समाजवादीले उम्मेदवार नै उठाएन।
महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी भए। शाहीले नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरे।
शाहीले तीन हजार १२७ मत पाए भने भण्डारीले दुई हजार ६७५ मत प्राए। यस्तै, माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए। कुल १२ हजार ६१४ मतदाता रहेको महाबुमा ६ हजार ९८९ मत खसेको थियो।
विजयी शाही एकीकृत समाजवादीको केन्द्रीय सदस्य थिए। उम्मेदवारी दर्ताको केही दिनअघि मात्रै एमालेमा प्रवेश गरे। यसपटक उनलाई एकीकृत समाजवादीका उम्मेदवार जगत हमाललेसमेत समर्थन गरेका थिए।
०७९ मा महाबुको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको थियो।
त्यसैगरी जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भइन्। उनले ४ हजार २७२ मत ल्याएर नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहलाई पराजित गराइन्। कांग्रेसकी सिंहले तीन हजार १४७ मत पाइन्।
२०७९ मा भएको निर्वाचनमा नलगाडको उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो। ०७९ मा गठबन्धनको भागबन्डाअनुसार नगर प्रमुख माओवादीले पाएको थियो भने उपप्रमुख कांग्रेसको भाग परेको थियो।
यसपटक नलगाडको उपप्रमुखका लागि कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादीबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, समाजवादीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन चुनावी मैदानमा थिए।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सना निर्वाचित भइन्। उनले १ हजार ६३७ प्राप्त गर्दै नेपाली कांग्रेसकी सविता बुढालाई पराजित गरिन्। बुढाले १ हजार ५९४ मत प्राप्त गरिन्। एमालेकी जाना शाहीले १ हजार १३२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीकी संगिता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले ९ मत पाए।
वडामा कसले जित्यो?
कालिकोटको तिलागुफा नगरपालिका-४ को वडाअध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही निर्वाचित भए। उनले १४३ मत ल्याएर माओवादी केन्द्रकी नैसोभा शाहीलाई पराजित गरे। नैसोभाले ११५ मत ल्याइन्। एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याए।
दैलेखको दुल्लु नगरपालिका-१३ मा एमालेका लालबहादुर शाही विजयी भए। उनले ५७४ मत प्राप्त गर्दै कांग्रेसका रेशमबहादुर शाहीलाई पराजित गरे। रेशमबहादुरले ५७१ मत ल्याउँदा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाही ५३ मतमै सीमित भए।
त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाअध्यक्षमा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भए। उनले १६१ मत ल्याउँदै प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकालाई पराजित गरे। रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाए।
जाजरकोटको कुशे गाउँपालिका-७ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भए। सिंहले ३४७ मत ल्याएर माओवादीका गोरख बहादुर सिंहलाई पराजित गरे। गोरखले ३३२ मत ल्याए। एमालेका डम्बर बहादुर घर्तीले २६२ मत ल्याए भने राप्रपाका लालबहादुर खत्रीले ८ मत मात्रै ल्याए।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा कांग्रेसका मोतीराम खत्री विजयी भए। खत्रीले ५९० मत ल्याएर माओवादी केन्द्रका जसिराम बस्नेतलाई पराजित गरे। बस्नेतले ५३७ मत ल्याए।
के भन्छन् पार्टीका नेता?
नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले जनमतको स्वीकार गर्नु नै लोकतन्त्रवादीको सुन्दर पक्ष रहेको बताए।
‘जनमतलाई स्वीकार गर्नु नै मुख्य कुरा हो। निर्वाचन एउटा परीक्षा हो। यसमा कांग्रेस पूर्णरुपमा पास हुन सकेन, आगामी दिनमा पास हुने गरी लाग्नुपर्छ भन्ने हाम्रो समीक्षा हो,’ उनले भने, ‘जनताले जुन साइजमा बस भन्यो त्यही ठाउँमा बस्ने हो। जितेकाले जनताको सेवा गर्ने हारेकाले जित्नेगरी मेहनत गर्ने।’
एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले विगतको भन्दा यो उपनिर्वाचनले सफलता पाएको बताए।
‘विगतमा हामीले दुई वटा वडा जितेका थियौं। अहिले एक वडा मात्रै जित्यौं। तर गुमाएको पालिका फेरि जित्यौं,’ उनले भने, ‘गुमाएको वडामा पनि मतको संख्या पहिले भन्दा बढी नै छ। यो हाम्रो राजनीतिक सफलता हो।’
माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले उपलब्धिका हिसाबले कर्णालीमा पहिलो भएपनि सन्तुष्ट नभएको बताइन्।
‘कर्णालीका आठ पदमा निर्वाचन हुँदा दुई पालिकामा हामीले जित्यौं,’ उनले भनिन्, ‘वडामा एकभन्दा बढी जित्न सक्ने आधार हुँदा हुँदै पनि हामी चुक्यौं। ती विषयहरू समीक्षामै छन्। समग्रमा हामी सन्तुष्ट छैनौं।’
चुनाव महँगो भएका कारण पनि निर्वाचनमा सोचेजस्तो नतिजा नआएको उनको भनाई छ।
राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश कार्यसम्पादन समितिका सहमहामन्त्री हरिप्रसाद अधिकारीले अहिलेको उपनिर्वाचनले ०८४ को निर्वाचनलाई कोशेढुंगा सावित गरेको बताए।
‘यो निर्वाचन संगठन निर्माणका लागि कोशेढुंगा साबित भएको छ। अनुभव र भुमिकाका हिसाबले नौलो भएपनि राजनीति प्रतिशोधले पार्टी सभापतिलाई हिरासत राखेको घटनाले आशातीत आएन,’ प्रवक्तासमेत रहेका अधिकारीले भने, ‘यसले ०८४ को लागि आशावादी हुने ठाउँ प्रशस्त छ। लोकतन्त्र, मानव अधिकार भ्रष्टाचार नियन्त्रणका लागि रास्वपाको एजेन्डा यथावत् नै छन्।’
मंसिर १८, २०८१ मंगलबार २०:१७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।