एनपिएल तेस्रो दिन :  चितवन र सुदूरपश्चिम चम्कँदा पोखरा र विराटनगरको फराकिलो रनको हारको रेकर्ड

एनपिएल तेस्रो दिन :  चितवन र सुदूरपश्चिम चम्कँदा पोखरा र विराटनगरको फराकिलो रनको हारको रेकर्ड
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : नेपाल प्रिमियर लिगको तेस्रो दिन दुई खेलहुँदा विराटनगर र पोखरा दुवै टिमले फराकिलो हारको रेकर्ड बनाए। पहिलो खेल सुदूरपश्चिम र विराटनगरबिच भएको थियो। सुदूरपश्चिमले ब्याटिङ गर्दै एक सय ८३ रनको लक्ष्य दिँदा विराटनगर ९० रनको फराकिलो अन्तरले पराजित भयो।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरी नट आउट रहँदै सर्वाधिक ५७ रन जोडेर टिमलाई जितको लक्ष्यमा अगाडि बढाएका थिए। उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरेर ब्याटिङको कौशल देखाएका थिए। उनले बढाएको स्कोर सामना गर्न आएका विराटनगरका ब्याटर चल्न सकेनन्। १६.१ ओभरमा अल आउट भएको टिमले ९२ रन मात्र बनाएको थियो।

क्याप्टेन सन्दीप लामिछानेले टिमको ड्रेसिङ रुममा ह्यापीनेस नभएको दाबी गर्दै हारको कारण टिम व्यवस्थापनतिर तेर्स्याउने प्रयास गरे।

दोस्रो खेलमा टस जितेर बलिङ रोजेको पोखराको हालत पनि यो भन्दा फरक रहेन। फराकिलो हारको रेकर्डमा पोखराले विराटनगरलाई जित्न सकेन। तर दोस्रो फराकिलो हारको रेकर्ड भने बनायो। १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखराका ब्याटर मैदानमा उत्रिए लगत्तै बिजोग सुरु भयो।

सात रन बनाउँदा ६ विकेट गइसकेको थियो। धन्न अन्तिम लाइनअपमा रहेका ब्याटर सम्हालिन सक्दा स्कोर बढेर ७४ रनसम्म पुग्यो। पोखरा चितवनसँग ८७ रनले हार्दै सर्वाधिक दोस्रो फराकिलो हारको रेकर्ड बनायो।

पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे। २४ बलमा ३ चौका र २ छक्का प्रहार गरेर उनले टिमको स्कोर अगाडि बढाएका थिए। म्याट क्रिचलीले १६ बलमा १७ रन बनाएर स्कोर अगाडि बढाए।

चितवनले ब्याटिङमा रवि बेपाराले सर्वाधिक ५१ रन बनाएका थिए। बोपारले ३ चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्का हान्दै व्यक्तिगत स्कोर ३८ पूर्याए।

बलिङमा चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेन चम्कँदा समान ३-३ विकेट लिएका थिए। दीपक बोहोराले १ विकेट लिएर एनपिएलको दोस्रो खेलको नतिजा आफ्नो पक्षमा पारे।

अङ्कतालिकामा चितवन अगाडि

दोस्रो खेल जितेसँगै चितवन अङ्क तालिकामा पनि सबैभन्दा माथि चढेको छ। दुई खेल जितेर उसले चार अङ्क त बनायो नै रन रेट पनि +२.७७ बनाएको छ। दुई खेल जितेर चार अङ्क पाएको जनकपुर बोल्ट्सको रनरेट ‌+२.२० छ। एक खेल जितेको सुदूरपश्चिम +४.५० को रनरेटसहित तेस्रो स्थानमा छ।

लुम्बिनी लायन्सबाहेक सबै टिमले एक खेल खेलीसकेका छन्। चितवन,जनकपुर र विराटनगरले दुई खेल खेलेका छन्। दुवै खेल हारेको विराटनगर -३.३४ अङ्कसहित छैटौँमा छ। खेल खेलिसकेका टिममध्ये पोखरा एभेन्जर्स -४.३५ अङ्कसहित पुछारमा छ।

मंसिर १८, २०८१ मंगलबार १९:३१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।