उपनिर्वाचन : कांग्रेस-एमालेलाई धक्का, माओवादीलाई मौका, जमानत गुमाएका रास्वपा-राप्रपालाई लज्जा
काठमाडौं : आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मत परिणामअनुसार नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरसहित १६ वडाअध्यक्षमा जीत निकालेर पहिलो स्थान ओगट्यो। माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेर आफूलाई दोस्रो स्थानमा दर्ज गरायो। एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएर एमाले तेस्रोमा समेटियो।
उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाअध्यक्षमा स्थान बनायो। कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो।
ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रूकुमपूर्वको पुथा उत्तरगङ्गा-२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए।
आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए।
कांग्रेसले गुमायो, एमालेले के पायो?
संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसलाई यस उपनिर्वाचनमा धक्का लागेको देखियो। सत्तारुढ कांग्रेसले यसअघिका आफ्नै सिट जोगाउन सकेन। उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रसकै रिक्त थियो।
०७९ मा आफूले जितेको मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिकाको अध्यक्ष कांग्रेसले बचाउन सकेन। अझ ग्रामथान गाउँपालिका अध्यक्षमा त कांग्रेसबाटै माओवादी प्रवेश गरेका नमोनारायण माझीले जिते। महाबु गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसकै सिट एमालेले खोस्यो। २०७९ को चुनावमा एमालेलाई नै कांग्रेसले हराएका थिए।
कांग्रेसले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफैंले मतदान गरेको काठमाडौं-१६ को वडाध्यक्ष पनि हार्यो। जबकी यो वडा यसअघि दुईपटक कांग्रेसले जितेको थियो। तर, पहिलोपटक स्थानीय चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रोजिना श्रेष्ठले वडाध्यक्ष जितिन्।
यसैबीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी रहेको बताए।
‘अहिले निर्वाचन भएका २७ सिटमा धेरै ठाउँ गठबन्धनका बलमा जितेको ठाउँ थियो,’ शर्माले भने, ‘२०७९ र अहिलेको निर्वाचनमा के फरक छ भने अहिले आफ्नो तागतमा यो परिणाम आएको हो।’
उता, सरकारको नेतृत्व गरिरहेको एमालेले २०७९ मा भएको स्थानीय तह उपनिर्वाचनमा गुमाएको दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद कांग्रेसबाट खोस्यो। उसका लागि यो नै ठूलो उपलब्धि हुन पुग्यो। त्यसका अलावा एमाले नेताहरूले भन्ने गरेको मुख्य चुनावी शत्रु माओवादीलाई पनि जित्न नसक्नु एमालेको लागि लज्जाकै विषय बन्यो।
कांग्रेस-एमाले गठबन्धन सरकार बनेपछि देशबाट अब माओवादी सकियो भन्दै विश्लेषण गर्नेहरूमा एमालेका शीर्ष नेताहरू नै थिए। तर, उपनिर्वाचनमा त्यही माओवादीले उछिनेपछि एमालेलाई यसले लज्जाको विषय बनाइदिएको छ। फेरिपनि एमालेको ध्यान यतातिर गएकै छैन।
रास्वपालगायतका नयाँ दलहरूलाई जनताले अनुमोदन गर्न नचाहेको विषयमै सन्तुष्ट देखिन्छ एमाले। उपनिर्वाचनको परिमाणबारे मुख्य सचेतक महेश बर्तौलाले मूलधारका दल र नेतृत्वप्रतिको भरोसा नवीकरण भएको बताए।
'मूलधारका प्रमुख राजनीतिक शक्तिप्रति नै नागरिकको भरोसा देखाएको छ। नतिजा तीन दलकै पोल्टामा गएकाले भरोसा पनि यिनै दलप्रति छ भन्ने सन्देश आएको छ, बर्तौलाले भने।
फेरि उठ्नसक्छ माओवादी
मंगलबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनलाई जितेपछि उत्साहित हुँदै भनेका छन्, 'अवाञ्छित गठबन्धनलाई पनि चिर्यौं।' प्रचण्डले उपनिर्वाचनको परिमाणबाट आफ्नो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको दाबी गरे। नभन्दै, अघिल्लो चुनावको तुलनामा माओवादीले आफ्नो नतिजालाई सुधार गरेको पनि छ।
पुथा उत्तरगंगामा माओवादीविरुद्ध कांग्रेस-एमालेबाट साझा उम्मेदवारी परेको थियो। जबकि अघिल्लो चुनावमा त्यहाँ कांग्रेस र माओवादीले गठबन्धन गरेर लडेका थिए। तर, यसपटक भने एक्लै लडेपनि पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भइन्। सत्तारुढ गठबन्धनका केशकुमारी तुलाचनले २१२८ मत ल्याउँदा नरपुराले ३६२७ मत ल्याएर गाउँपालिका उपाध्यक्ष जितिन्।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल उपनिर्वाचनले माओवादीलाई ढाडस दिएको भन्दै थपे, ‘उपचुनावको दुइटा सन्देश छ। एउटा- माओवादीले कमब्याक गर्न सक्छ। अर्को- अब देशमा दुइटा मात्रै शक्ति रहन्छन् भन्ने भाष्यलाई यो उपनिर्वाचनले ध्वस्त गरिदियो।’
आफ्नै कारणले 'सकियो' रास्वपा, लिङ्देनकै क्षेत्रमा राप्रपाको लाजमर्दो हार
काठमाडौंको १६ नम्बर बाहेक संसद्को चौथो ठूलो दल रास्वपालाई कहीं कतै भेटिएन। पार्टी सभापति रवि लामिछानेको बचाउका लागि विरोध प्रदर्शनमै समय खेर फालेको रास्वपाले धेरै स्थानमा उम्मेदवार नै पाएन। स्थानीय तहका विभिन्न ४४ पदका लागि भएको चुनावमा रास्वपाले २६ पदमा पदमा उम्मेदवार उठाएको थियो। उठाएका अरू धेरै स्थानमा पनि जमानतै बचाउन सकेन। जमानत जोगिन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ।
सहकारी ठगी आरोपमा पक्राउ सभापति रविको बचाउमा पार्टीका नेता, कार्यकर्ताहरू लामै समयदेखि अल्मलिइरहेका छन्। विरोधका कार्यक्रमहरू चलिरहँदा देशभर ४४ पदका लागि भएको उपनिर्वाचनमा पार्टीले पर्याप्त ध्यान दिन सकेन। यस कुरालाई उपसभापति स्वर्णिम वाग्लेलेसमेत स्वीकारेका छन्। त्यसैकारण पनि पहिलोपटक स्थानीय चुनावमा भाग लिएको रास्वपाको जादु चलन सकेन।
उता, आफूलाई भ्रष्टाचार विरोधी मान्ने राजेन्द्र लिङ्देन अधक्ष्य रहेको राप्रपाको त झन् हालत खराबी देखियो। लिङ्देनकै गृह जिल्ला झापामासमेत राप्रपाले लाजमर्दो हार व्यहोर्नुपरेको छ। झापाको कन्काई नगरपालिका-६ को वडा अध्यक्ष पदमा राप्रपाले जम्मा २६ मत प्राप्त गरेको छ। यहाँ राप्रपाले उम्मेदवार बनाएको नारायणप्रसाद सिटौला पाँचौँ स्थानमा रहे।
धेरै स्थानमा जित्ने दाबी गरेको राप्रपाका उम्मेदवारको अधिकांश स्थानमा जमानत नै जफत भए। त्यतिमात्र हैन, मुसिकोट-१, लालिगुरास-८, गढीमाई-८ लगायतका ७ जना उम्मेदवारले त १० मत पनि कटाएनन्। ओखलढुंगाको मोलुङ गाउँपालिका-५ त राप्रपाका उम्मेदवार चन्द्रमणि दाहाल पाँचौँ स्थानमा रहँदै ३ मत प्राप्त गरे।
मधेश प्रदेशमा सात वटा वडामा वडाध्यक्ष पदको लागि भएको उपचुनावमा नेपाली कांग्रेस र जसपा नेपालले २-२ सिट जिते। एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले १-१ सिट जितेका छन्। तर मधेश सरकारको नेतृत्व गरिरहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टी जित्नु त परको कुरा धेरै स्थानमा जमानतै जोगाउन सकेन।
कहाँ को निर्वाचित?
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी छ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत प्राप्त गरे।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही तीन हजार एक सय २७ मतसहित विजयी भए। उनको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत ल्याए।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार दुई सय ७२ मत पाई निर्वाचित भइन्। उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले तीन सय एक सय ४७ मत प्राप्त गरिन्।
रुकुम(पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार छ सय २७ मत ल्याएर विजयी भइन्। उनको प्रतिस्पर्धी एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार एक सय २८ मत मात्रै पाइन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन्। उनले एक हजार सात सय ४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाइन्।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ मा एमालेका कुमारी सावादेन तीन सय ५३ मतसहित विजयी भए। उनको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरे।
झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली चार सय ९३ मत प्राप्त गरी विजयी भए। उनको प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत पाए।
तेह्रथुमको लालीगुराँस नगरपालिका-८ मा कांग्रेसका नगेन्द्र लिम्बू चार सय ४० मत प्राप्त गरी विजयी भए। उनीसँग एमालेका बुद्धबहादुर लिम्बू तीन सय ६० मत प्राप्त गरी पराजित भए ।
सुनसरीको गढी गाउँपालिका-६ मा कांग्रेसका तेतर साहु आठ सय १६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार सात सय ९४ मत प्राप्त गरी पराजित भए।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा एमालेका गङ्गाबहादुर तामाङ तीन सय ९९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल एक सय ७७ मत पाएर पराजित भए।
उदयपुरको त्रियुगा नगरपालिका-१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भए। उनले नौ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गरे।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ को वडाअध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भए। उनीसँग कांग्रेसका भूलियादेवी थरुनी पाँच सय ८७ मत ल्याई पराजित भइन्।
सप्तरीकै डाक्नेश्वरी-४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव तीन सय ७२ मत प्राप्त गरी विजयी भए। उनको प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले दुई सय ७७ मत पाए।
धनुषाधाम नगरपालिका-१ मा माओवादी केन्द्रका सुनील कापर केवट छ सय ८४ मतसहित विजयी भए। उनको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे।
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को वडाअध्यक्षमा एमालेका सकिवुल खाँ छ सय ३१ मत प्राप्त गरी निर्वाचित भए। उनको प्रतिस्पर्धी आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरे।
रौतहटको ईशनाथ नगरपालिका-७ मा कांग्रेसका शेख अब्दुल खलिक छ सय २७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार पाँच सय ७५ मत प्राप्त गरे।
गढीमाई नगरपालिका-८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले छ सय ५५ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले छ सय ३१ मत पाए।
रौतहटकै राजपुर नगरपालिका-६ को वडाअध्यक्षमा कांग्रेसका समसे आलम सात सय ४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह चार सय ६३ मत पाई पराजित भए। नुवाकोटको ककनी गाउँपालिका-२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भए। कांग्रेसका सूर्य तामाङले पाँच सय ८७ मत प्राप्त गरे।
काठमाडौँ महानगरपालिका-१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार दुई सय २० मत प्राप्त गरी पराजित भए।
काठमाडौँका कीर्तिपुर नगरपालिका-१ मा कांग्रेसका इच्छाकुमार महर्जन पाँच सय ६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले चार सय ९८ मत मात्रै पाए।
कीर्तिपुरकै वडा नम्बर ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले सात सय ४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले चार सय ९५ मत पाए।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ को वडाअध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार पाँच सय ६० मतसहित पराजित भए।
गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर चार सय ८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले चार सय दुई मत मात्र पाए।
गुल्मीको मुसिकोट नगरपालिका-१ को वडाअध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले नौ सय ३० मत पाए।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार एक सय ५० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए।
रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा कांग्रेसका भूपमणि पुनमगर छ सय ४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले पाँच सय ३५ मत पाए।
बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मा कांग्रेस उम्मेदवार अमिन थारू एक हजार ४३ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी शेरबहादुर थारुले छ सय ७८ मत पाए।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाअध्यक्षमा माओवादीका नरबहादुर झाँक्री एक सय ६१ मतसहित निर्वाचित भए। उनको प्रतिस्पर्धी नरबहादुर रोकाले एक सय १६ मत पाए।
कालिकोटको तिलागुफा नगरपालिका-४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही एक सय ४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही एक सय १५ मतमा सीमित भए।
जाजरकोटको कुशे गाउँपालिका-७ मा कांग्रेसका खम्बबहादुर सिंह तीन सय ४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले तीन सय ३२ मत पाए।
दैलेखको दुल्लु नगरपालिका-१३ को वडाअध्यक्षमा एमालेका लालबहादुर शाही पाँच सय ७४ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत पाए ।
रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका-५ मा कांग्रेसका मोतीराम खत्री पाँच सय ९० मतका साथ निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले पाँच सय ३७ मत पाए।
बझाङको सुर्मा गाउँपालिका-४ को वडाअध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा चार सय ८७ मतमा सीमित भए।
डोटीको पूर्वीचौकी गाउँपालिका-६ मा कांग्रेसका मोहन थापा चार सय ६८ मतका साथ निर्वाचित भए। उनको निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले तीन सय एक मत पाए।
दार्चुलाको दुहुँ गाउँपालिका-५ मा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल तीन सय ५८ मतमा सीमित भए।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाअध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले चार सय ८७ मत ल्याए।
मंसिर १८, २०८१ मंगलबार १९:०९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।