प्रियंका र दीयाको हरर सिनेमा ‘ममी’ माघ २२ मा, फर्स्टलुकमा दीयाको डरलाग्दो अवतार
काठमाडौं : अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ लाई प्रदर्शन मिति घोषणा गरिएको हो।
सिनेमाको सार्वजनिक पोस्टरमा एउटा ठुलो रुखको फेदमा घर अनि प्रियंका र दीयालाई सोही रुखको आकारमा प्रस्तुत गरिएको छ। पोस्टरमा प्रियंकालाई गम्भीर भावमा प्रस्तुत छिन् भने दीयाको रगताम्य अनुहारसहित डरलाग्दो अवतारमा प्रस्तुत छिन्।
हरर फ्यामिली ड्रामा कथामा निर्माण भएको सिनेमाले एक परिवारमा छोरी र कुकुरको दुखद् निधनपश्चात रहस्यमय कालो बिरालो अपनाएसँगै निम्तने विपत्तिलाई देखाउने छ।
एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायत कलाकारहरूको अभिनय रहेको छ। सिनेमामा समर निरौलाको लेखन तथा निर्देशन रहेको छ। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो।
लोक राज जोशी र पूर्णिमा जोशी निर्माता अनि सुमन कोइराला कार्यकारी निर्माता रहेको सिनेमालाई निसल पौडेल र शरद महतोले छायांकन गरेका हुन्।
दिपेश चौधरीको कलर तथा सुरेन महर्जनको सम्पादन रहेको सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्दै छन्।
मंसिर १८, २०८१ मंगलबार १७:५६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।