कुन दलले, कसरी लिएका छन् उपनिर्वाचनपछिको नतिजालाई?

कुन दलले, कसरी लिएका छन् उपनिर्वाचनपछिको नतिजालाई?

काठमाडौं : राजनीतिक दलका नेताहरूले स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले फेरि पनि मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताले भरोसा गरेको प्रतिक्रिया दिएका छन्।

आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजा सार्वजनिक भएपछि रासससँगको कुराकानीमा उनीहरुले मतपरिणामलाई लिएर आत्तिने, मात्तिने र हौसिने अवस्था नरहेको र जनतातर्फ फर्कनुपर्ने सन्देश दिएको बताए।

मतदाताको समर्थनलाई विश्वासमा परिणत गर्नुपर्छ : विश्वप्रकाश शर्मा, महामन्त्री, नेपाली कांग्रेस
उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विस्तृत रुपमा पछि विश्लेषण र समग्र समीक्षा गरिनेछ। प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवर्द्धक सङ्केतका रूपमा लिएका छौँ।

उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ। मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ।

लोकतन्त्रमा सतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार ब्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने निष्कर्ष छ।

मूलधारका दल र नेतृत्वप्रतिको भरोसा नवीकरण : महेश बर्तौला, मुख्य सचेतक, एमाले
लोकतन्त्रमा जनताको अभिमतलाई सबैले स्वीकार गर्नुपर्छ। अहिलेको परिणामलाई एमालेले सहर्ष स्वीकार्दै ग्रहण गरेको छ। निर्वाचन परिणामबाट आत्तिन, निराश र हौसन पर्ने परिस्थिति छैन। जनताले उम्मेदवारलाई हेरेर दलहरूका सम्बन्धमा पनि अदलबदल गर्न सक्छन् भन्ने परिणामबाट देखिएको छ।

एउटा निर्वाचनलाई हेरेर त्यो स्थानमा त्यही दलको वर्चस्व रहन्छ भन्ने विषय परिणामले देखाएन। मूलधारका प्रमुख राजनीतिक शक्तिप्रति नै नागरिकको भरोसा देखाएको छ। जनताले समयक्रममा निर्णय फेरबदल गर्न सक्छन् है भन्ने देखाएको छ।

नतिजा तीन दलकै पोल्टामा गएकाले भरोसा पनि यिनै दलप्रति छ भन्ने सन्देश आएको छ। यो परिणामले कसैलाई हौसाउने, कसैलाई निराश बनाउने गरेको छैन, आमरुपले मूलधारका राजनीतिक दल र नेतृत्वप्रति भरोसा रहेको कुराको नवीकरण गरेको छ।

सहर र तराई मधेसमा माओवादीको प्रगति : हितराज पाण्डे, प्रमुख सचेतक, माओवादी केन्द्र
पार्टी नेतृत्वले बारम्बार जनतातर्फ फर्कनुपर्छ भनेर राख्दै आएको विचारलाई निर्वाचनको परिणामले पुष्टि गरेको छ। जति स्थानमा पार्टीका उम्मेदवार विजयी भएका छन्, त्यसले धेरै राम्रो सन्देश दिएको छ। जहाँ निकटतम प्रतिस्पर्धामा पुगेको अवस्था छ, यो खुसीको विषय हो।

देश र जनतालाई गोलबन्द गरेर लैजान विचार र नेतृत्व नै मुख्य कुरा रहेछ भन्ने प्रमाणित भएको छ। निर्वाचनको परिणाम महत्वपूर्ण सङ्केतका रुपमा आएको छ। माओवादी पार्टी र नेतृत्वप्रति जनताको सकारात्मक भाव प्रकट भएको छ, यसलाई हामीले विगतमा भएका कमीकमजोरीलाई सच्याएर बढ्नुपर्छ भन्ने पनि देखिएको छ।

उत्पीडित जनताको पक्षमा केन्द्रित हुनुपर्नेछ। सहरी र तराई मधेशका क्षेत्रमा पार्टीका विचार प्रवाह गर्न सकेका थिएनौं, अहिलेको जनमतले त्यसतर्फ प्रगति भएको देखाएको छ। निर्वाचनले धेरै मात्तिनु र आत्तिनु पनि हुँदैन भन्ने सन्देश दिएको छ।

मतपरिणामले सङ्गठनको आवश्यकता खड्कियो : मनिष झा, कार्यवाहक प्रवक्ता, राष्ट्रिय स्वतन्त्र पार्टी
राजनीतिक दल, दलको विचार, कार्यक्रम, अवस्था र परिस्थिति, उम्मेदवारको व्यक्तित्व, उम्मेदवारको एजेन्डा र व्यक्तिगत नाफाघाटाको सूचकका आधारमा उम्मेदवारलाई मतदाताले मूल्याङ्कन गरेर निर्णय गरेको पाइन्छ।

राजनीतिक दलको स्थापना र सङ्गठनका आधारमा रास्वपा सुरुआती चरणमा छ। सङ्गठनको आवश्यकता निकै खड्केको देखियो। सहरी क्षेत्रका मतदाताले पार्टीलाई उत्साहित बनाए पनि दूरदराज र गाउँगाउँमा सङ्गठन बनाउनुपर्ने देखियो। चुनावका नतिजाले मतदाताबीचमा राजनीतिको स्पष्ट मार्गको कमी देखियो।

कामदार वर्ग एक हुनुपर्छ : प्रेम सुवाल, नेता, नेपाल मजदुर किसान पार्टी
हाम्रो जस्तो मुलुकमा चुनाव एउटा वर्ग सङ्घर्ष जस्तै हो। स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले कामदार वर्ग कमजोर जस्तो देखियो। त्यसकारण यो वर्ग एकजुट हुनुपर्छ।  

मंसिर १८, २०८१ मंगलबार १७:३०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।