एनपिएलको जुवा खेलाउने चार जना पक्राउ, जुवाको प्रचार गर्ने क्यानलाई उन्मुक्ति

एनपिएलको जुवा खेलाउने चार जना पक्राउ, जुवाको प्रचार गर्ने क्यानलाई उन्मुक्ति

काठमाडौँ : मैदानमै बसेर नेपाल प्रिमियर लिगको खेलबारे अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार जनालाई पक्राउ गर्यो। सोमबार र मङ्गलवार टीयू क्रिकेट मैदानबाटै खेल सम्बन्धी जुवा खेलाएको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका हुन्।

ब्युरोका अनुसार सोमबार सुमन घोष र अमित यादव पक्राउ परेका थिए। मङ्गलवार सुमन्त कुमार र ब्रजेश कुमार पक्राउ परेका हुन्। पक्राउ परेका चारै जना भारतीय नागरिक रहेको र उनीहरू एनपिएल लक्षित गरेर अनलाइन सट्टेबाजी खेलाउन नेपाल आएको ब्युरोको दाबी छ।

नेपालको कानुन अनुसार खेलमा आधारित सट्टेवाजी खेल्नु, खेलाउनु र प्रवर्धन गर्नु गैर कानुनी हो। प्रहरीले खेलमा आधारित जुवा खेलाएको र सट्टेबाजी गरेको आरोपमा मैदानबाटै पक्राउ गरिरहँदा मैदानको मुख्य भागमा जुवा खेलाउने कम्पनीको सेरोगेसी नाममा भइरहेको प्रचारप्रति भने मौन देखिन्छ।

क्यानले एनपिएलका लागि जुवा र सट्टाबाजी गराउने वुल्भत्रिपलसेभेनको सरोगेसी वुल्फत्रिपलसेभेनन्युजसँग सहकार्य गर्दै उसको ब्रान्ड प्रवर्धन गरिरहेको छ। क्रिकेट एसोसिएसन अफ नेपालले चोरबाटो समातेर जुवा खेलाउने कम्पनी प्रवर्धन गरिरहेको छ नै एनपिएलमा सहभागी दुई फ्रेन्चाइज टिम सुदूरपश्चिम र विराटनगर किंग्सले समेत अनलाइन जुवा र सट्टेबाजी खेलाउने कम्पनीलाई न्युजको नाममा प्रचार गरिरहेका छन्।

विराटनगर किंग्सले ‘बिजे८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बिजेस्पोर्ट्स’लाई आफ्नो जर्सीको मुख्य भागमा समेटेको छ। टिमले अनलाइन जुवा खेलाउने कम्पनीको प्रवर्धन गर्दा त्यही टिमका खेलाडीले भने आफूले लगाउने जर्सीबाट त्यसको प्रवर्धन गर्न अस्वीकार गर्दै टेप टाँसेका थिए।

टिममा रहेका खेलाडी सैफ अलि जैबले बेटिङ साइटको लोगो राखेको स्थानमा खैरो टेप राखेर छोपेका थिए। उता सुदूरपश्चिम रोयल्सले ‘बाबु८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बाबु८८स्पोर्ट्स’लाई आफ्नो जर्सीमा राखेको छ।

क्यानले जुवाको प्रवर्धन गरेको प्रहरी निष्कर्ष

त्रिवि क्रिकेट मैदानबाट क्यानले अनलाइन जुवाको प्रवर्धन गरेकोबारे उकेरामा प्रकाशित समाचारको आधारमा प्रहरीले क्रिकेट मैदानको अनुगमन गरेर जुवा प्रवर्धन गरेको निष्कर्ष निकालेको छ। स्रोतका अनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टिम मैदानमा गएर अनुगमन गरेको थियो।

प्रहरी टिमले एनपिएलमा जुवाको प्रवर्धन र प्रचार भइरहेको निष्कर्ष निकालेपछि एनपिएल आयोजक कमिटीका प्रमुख पारस खड्कासहित क्यानको टिमसँग छलफल गरेको थियो। छलफलमा क्यानको इट्रिगिटी कमिटीका प्रमुख ईश्वरबाबु कार्की समेत थिए। कार्की ३० वर्ष प्रहरी सेवामा रहेर अवकाश पाएका प्रहरी अधिकारी हुन्। उनी गम्भीर प्रकृतिको अपराध अनुसन्धानमा परिचित प्रहरी अधिकृत थिए।

उनीसहित बसेको बैठकमा पारससहित क्यानको टिमले विज्ञापनका लागि प्याकेजमै वुल्फत्रिपल सेभेन आएको र आइसिसी लगायतले समेत यसलाई नरोकेको तर्क गरेका थिए। जुन देशमा प्रतियोगिता हुने हो त्यही देशको कानुन लागु हुनेबारे क्यान पदाधिकारी जानकार नहुने कुरै भएन। तर उनीहरूले आइसिसी देखाएर जुवा प्रवर्धन जस्तो गम्भीर अपराध वैध भएको कुतर्क गरिरहेको देखियो।

जानकारस्रोतका अनुसार प्रहरीले तत्काल वुल्फत्रिपलसेभेनसहित जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनीको प्रचार सामाग्री हटाउन भन्दा उनले प्रहरी प्रधान कार्यालयबाट निर्देशन आए मात्र सो हटाउने जवाफ दिएका थिए।

क्यानले एनपिएलमार्फत जुवाको प्रवर्द्धन गरिरहेकोमा निष्कर्ष निकालेको उपत्यका प्रहरी कार्यालयले एनपिएलको आवरणमा भइरहेको जुवा प्रवर्द्धन रोक्न आवश्यक पहलका लागि उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा पत्र पठाउने तयारी गरेको कार्यालयका एक अधिकारीले उकेरालाई जानकारी दिए।

‘हाम्रो अनुगमनमा एनपिएलमार्फत अनलाइन जुवाको प्रवर्द्धन गरेको पुष्टि भयो। तर उनीहरूले अटेरी गरेर विज्ञापन हटाउन केन्द्रबाटै निर्देशन आउनुपर्ने बताएपछि सोही अनुसार तयारी भइरहेको छ,’ ती अधिकारीले भने।

यस्तो छ नेपालको कानुन 

नेपालको ‘जुवा ऐन २०२०’ अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनुपर्ने भनिएको छ। तर, नेपाल सरकारको अनुमति लिई आयोजना गरिएको कुनै सार्वजनिक चिट्ठा र मनोरञ्जनको लागि कुनै सार्वजनिक मेला वा प्रदर्शनीमा खेलिएको खेललाई नजनाउने उल्लेख गरिएको छ।

‘मुलुकी अपराध संहिता २०७४’को दफा १२५ मा पनि ‘जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नहुने’ प्रावधान छ। जसको उपदफा ४ मा सट्टाबाजी गर्नु वा गराउन नहुने भनिएको छ। त्यसलाई थप प्रस्ट पार्दै उपदफा ५ मा ‘कसैले कानुन बमोजिम खेल्न खेलाउन नहुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसुर गरेको मानिने’ उल्लेख छ।

जुवाको रूपमा जे परिभाषा गरिएको छ वुल्फत्रिपलसेभेनको काम मिल्छ।  यसले नेपालमा जुवा प्रचार गर्न वास्तविक कम्पनीको नाम प्रयोग नगरी सरोगेट कम्पनीको प्रयोग गरेर गैर कानुनी काम गरिरहेको पुष्टि हुन्छ। अनि क्यानले पनि सरोगेट कम्पनी त हो नि भनेर जुवा प्रवर्धन गरिरहेको देखिन्छ।

एनपिएलमा जुवा

मंसिर १८, २०८१ मंगलबार १६:५२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।