पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनलाई जितेपछि उत्साहित प्रचण्ड, भने- अवाञ्छित गठबन्धनलाई पनि चिर्यौं

पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनलाई जितेपछि उत्साहित प्रचण्ड, भने- अवाञ्छित गठबन्धनलाई पनि चिर्यौं

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह उपनिर्वाचनमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट उत्साहजनक सफलता हासिल गरेको बताएका छन्।

आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले उपनिर्वाचनको परिमाणबाट आफ्नो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको दाबी गरे।

उनले भनेका छन्, ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रुपमा लिएको थियो। खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं। निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ।’

यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीले आफ्नो एजेन्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रूपमा लिने प्रचण्डको भनाई छ। 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष लगायतमा भएको सत्तारुढ कांग्रेस र एमालेको गठबन्धनलाई प्रचण्डले अवाञ्छित गठबन्धन भनेका छन्। ती गठबन्धनलाई पनि चिर्न पार्टी सफल भएको प्रचण्डको निष्कर्ष छ। 

पुथा उत्तरगंगामा माओवादीविरुद्ध कांग्रेस-एमालेबाट साझा उम्मेदवारी परेको थियो। जबकि अघिल्लो चुनावमा त्यहाँ कांग्रेस र माओवादीले गठबन्धन गरेर लडेका थिए। 

तर, यसपटक भने एक्लै लडेपनि पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भइन्। सत्तारुढ गठबन्धनका केशकुमारी तुलाचनले २१२८ मत ल्याउँदा नरपुराले ३६२७ मत ल्याएर गाउँपालिका उपाध्यक्ष जितिन्।

मंसिर १८, २०८१ मंगलबार १५:४९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।