संस्थापन पक्षले अवैध भन्दा-भन्दै पनि शेखर कोइरालाले विराटनगरमा आफ्नो पक्षको भेला गराए

संस्थापन पक्षले अवैध भन्दा-भन्दै पनि शेखर कोइरालाले विराटनगरमा आफ्नो पक्षको भेला गराए

काठमाडौं : केन्द्रीय कार्यालयले रोक्न निर्देशन दिएपनि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले विराटनगरमा सुरू भेला गराएको छ। विराटनगरको जैन भवनमा केहीबेरदेखि भेला सुरू भएको हो।

मंसिर २२ मा निर्धारित स्थानीय तहका सभापतिहरूको भेलाबाहेक अन्य कुनै कार्यक्रम नरहेको भन्दै सोमबार केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशीका सबै जिल्ला सभापतिलाई पत्र पठाएका थिए। पौडेलले सोमबार प्रदेशका जिल्ला सभापतिलाई पत्र पठाउँदै २२ मा अन्य कुनै पनि कार्यक्रम आयोजना नगरिएको भनेका थिए।

तर, कोइराला पक्षले भने भेला रोकेन। आज भएको भेला कार्यक्रममा संस्थापन पक्ष सहभागी भएको छैन। संस्थापन पक्षले आजको भेलालाई अवैध भनेको छ।

नेपाली कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईले कोशी प्रदेशमा २२ मंसिर बाहेक अन्य कार्यक्रम नभएको बताए।

नेपाली कांग्रेस विराटनगर नगर सभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईंले सभापतिको भेलामा प्रदेशभरका पालिका सभापतिहरू आएको दाबी गरे।

कोइराला पक्षले आजको कार्यक्रममा प्रदेश भित्रका स्थानीय तहका सभापतिहरूको भेला राखेको जनाएको छ। त्यस कार्यक्रममा सबै जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूलाई समेत डाकेको छ। 

कांग्रेस कोशी प्रदेशले पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा मंसिर २२ मा प्रदेश राजधानी विराटनगरमा सम्मेलन गर्दैछ। 

मंसिर १८, २०८१ मंगलबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।