एनपीएलमा पहिलो जितपछि रोयल्सका कप्तान ऐरी भन्छन्- ‘अन्तिममा चाहिँ लाग्यो’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पहिलो खेलमा नै जित हात पारेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले १५० रनभन्दा माथिको स्कोर बनाउने सोच रहेको बताएका छन्।
खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऐरीले विकेट स्लो भएकाले आफूहरुको योजना १५० भन्दा बढी रन बनाउने रहेको खुलाएका हुन्।
‘सुरुमा विकेट स्लो थियो, त्यही अनुसार १५० भन्दा बढी स्कोर गर्दा जित्छौँ भन्ने लागिरहेको थियो,’ उनले भने, ‘अन्तिममा पिचले पनि साथ दियो, त्यसले गर्दा स्कोर पनि १८० भन्दा बढी भयो।’
आफ्नो प्रस्तुतिबारे बोल्दै ऐरीले सुरुमा जोगिएर खेले पनि पछि हिट गर्दा लागेको बताए।
उनले थपे, ‘सुरुमा विकेट स्लो भएर सिंगल डबल मात्र लिएँ, अन्तिममा चाहिँ लाग्यो।’
ऐरीले टिममा स्वदेशी र विदेशी खेलाडीको ब्यालेन्स मिलाउन गाह्रो नभएको भन्दै जसलाई खेलाए पनि म्याचमा राम्रो गर्नुपर्नेमा जोड दिए।
पहिलो खेलमा जित निकालेको सुदूरपश्चिमको अर्को खेल बिहीबार दिउँसो एक बजे काठमाडौं गुर्खाजसँग छ।
मंसिर १८, २०८१ मंगलबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।