एनपीएलमा सुदूरपश्चिमको शानदार जित, सन्दीपको विराटनगरले दोस्रो खेल पनि हार्‍यो

एनपीएलमा सुदूरपश्चिमको शानदार जित, सन्दीपको विराटनगरले दोस्रो खेल पनि हार्‍यो

काठमाडौं : जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ।

कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

प्रतियोगितामा सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगरले लगातार दोस्रो हार व्यहोरेको छ।

तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिमले दिएको १ सय ८३ रनको बलियो लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटियो।

विराटनगरका लागि बसिर अहमदले २८ बलमा सर्वाधिक २४ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि स्कट कुगेलेन र अविनास बोहोराले समान तीन-तीन तथा सेफ जेब, इशान पान्डे र ब्रेन्डन मक्मलेनले समान एक-एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रन जोड्यो। यो प्रतियोगिताकै अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो।

उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। २४ बलको सामना गरेका उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन जोडे।

त्यसअलावा ब्रान्डन म्याकमलनले ३६, विनोद भण्डारीले २३, इसान पाण्डेले २१, सैफ अली जैबले १४ र स्कट कुग्गेलेजिनले १० रन जोडे।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरका लागि अनिल खरेलले तीन तथा बसीर अहमद, इस्मात आलम र क्रिस सोलले समान एक–एक विकेट लिए।

मंसिर १८, २०८१ मंगलबार १२:४७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।