सुदूरपश्चिमको जर्सीमा पनि सट्टेबाजीको प्रचार, टिमकै खेलाडी जैबले टेपले छोपेर खेले

सुदूरपश्चिमको जर्सीमा पनि सट्टेबाजीको प्रचार, टिमकै खेलाडी जैबले टेपले छोपेर खेले

काठमाडौं : गत शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खुलमखुलामा प्रचार भइरहेको छ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको प्रतियोगितामा क्यान आफैँले ‘वुल्फ७७७न्युज’ नामक बेटिङ साइटको प्रचार गरिरहँदा फ्रेन्चाइजी टिमहरूले पनि बेटिङ साइटको प्रचार गरेका छन्।

विराटनगर किंग्सले ‘बिजे८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बिजेस्पोर्ट्स’लाई आफ्नो जर्सीमा समेट्दा सुदूरपश्चिम रोयल्सले ‘बाबु८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बाबु८८स्पोर्ट्स’लाई आफ्नो जर्सीमा समेटेको छ।

टिमले जर्सीको पछाडि मुख्य स्थानमै अनलाइन जुवा खेलाउने कम्पनीको विज्ञापन राखेपछि टिमकै खेलाडी इंग्ल्याल्डका सैफ अली जैबले भने विज्ञापनलाई टेपले छोपेर खेले। 

उकेराले यसअघि पनि क्यानले कसरी त्रिवि क्रिकेट मैदानलाई जुवाको अड्डा बनाइरहेको छ भन्नेबारे समाचार सम्प्रेषण गरेको थियो। क्यानले अनलाइन जुवा खेलाउने र बेटिङ गराउने वुल्फ७७७को सरोगेट कम्पनी वुल्फ७७७न्युजलाई लिगको स्पन्सर बनाएर मैदानमै विज्ञापन राखेको छ।

वुल्फ७७७ले नेपालमै प्रतिनिधि खटाएर कसरी अवैध जुवा खेलाइरहेको छ भन्नेबारे उकेराले एक्सक्लुसिभ समाचार प्रकाशित गरेको थियो।

मंगलबार मात्रै त्रिवि क्रिकेट मैदानबाटै प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भारत कोलकाताको सुनिल घोष अनि उत्तर प्रदेशका अमित यादवलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रमुख एआईजी दीपक थापाका अनुसार एनपीएलमा हुने खेलहरूमा अनलाइन जुवा खेलाउन उनीहरू एक महिना अगाडिबाट नेपाल आएर तयारी गरेको खुलेको छ।

यो पनि:-

मंसिर १८, २०८१ मंगलबार १०:२९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।