एनपीएलको खेल मैदानमा भेटिए दुई भारतीय सट्टेबाज, खेलाडीदेखि टिम पदाधिकारीसम्म प्रहरी निगरानीमा

काठमाडौं : नेपाल क्रिकेट लिगको सोमबारको खेलमा त्रिवि क्रिकेट मैदानबाटै अनलाइन जुवा खेलाएको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भारत कोलकाताको सुनिल घोष अनि उत्तर प्रदेशका अमित यादवलाई पक्राउ गरेको हो। ब्यूरोका प्रमुख एआईजी दीपक थापाका अनुसार एनपीएलमा हुने खेलहरूमा अनलाइन जुवा खेलाउन उनीहरू एक महिना अगाडिबाट नेपाल आएर तयारी गरेको खुलेको छ।
उनीहरूको ट्रान्जेक्सन हेर्दा आठ करोडसम्म फेला परेको एआइजी थापाले जानकारी दिए। नेपालमा अनलाइन जुवा र सट्टेवाजी प्रतिबन्धित भए पनि एनपीएलको आयोजक क्यान आफैँले अनलाइन जुवा खेलाउने कम्पनीलाई स्पन्सर बनाएर मैदानमा उसको विज्ञापनै राखेको छ।
क्यानले खेलको स्पन्सर बनाएको वुल्फत्रिपलसेभेनले नेपालमा कसरी एजेन्ट परिचालन गराएर नेपालीलाई अनलाइन जुवा खेलाइरहेको छ र त्यसमा लिगका प्रमुख पारस खड्कासहित क्यानका पदाधिकारीहरूको भूमिका के देखिएको छ भन्नेबारे उकेराले विस्तृत खोज रिपोर्ट नै प्रकाशित गरेको छ।
जुवा र सट्टा रोक्न विशेष टोली, सञ्चालकदेखि खेलाडीसम्म निगरानीमा
एनपीएल सुरू भएसँगै खेलमा आधारित अनलाइन जुवा, सट्टेवाजीदेखि स्पट फिक्सिङ र म्याच फिक्सिङसम्मको जोखिम कम गर्न प्रहरीले विशेष टोली परिचालन गरेको छ।
क्रिकेट मैदान, खेलाडीहरू बसेको होटेल, लिगमा सहभागी फ्रेन्चाइच टिमका सञ्चालक, कोचदेखि व्यवस्थापनमा रहेका व्यक्तिहरूमाथि निगरानी र अनुगमनका लागि प्रहरी प्रधान कार्यालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत सादा पोसाकमा प्रहरी परिचालित गरिएको छ।
जानकार अधिकारीले दिएको जानकारी अनुसार प्रहरी प्रधान कार्यालयबाट डिएसपीको कमान्डमा १० जनाको टोली परिचालित भएका छन्। उनीहरूलाई फ्रेन्चाइज टिमको गतिविधिदेखि खेलाडी र खेल अफिसियलसम्मको गतिविधिको निगरानी गर्ने जिम्मेवारी तोकिएको छ। खेलको समयमा मैदानमा हुनसक्ने शंकास्पद गतिविधि, होटलहरूमा बसेकाहरूको सम्पर्क र गतिविधि निगरानी गर्ने जिम्मेवारी दिएको एक प्रहरी अधिकारीले उकेरालाई जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्यूरोले एसपीको नेतृत्वमा विशेष टोली नै परिचालित गरेको छ। सो टोलीले एनपीएल सुरू हुनुभन्दा अगाडि क्यानका अधिकारीहरूसँग समेत खेलमा हुनसक्ने सम्भावित अपराधबारे छलफल गरेको खुलेको छ।
उनीहरूले पनि खेल अधिकारी, खेलाडीदेखि मैदानसम्मको निगरानी गर्ने गरेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पनि डिएसपीको नेतृत्वमा मैदान र मैदान बाहिरको शङ्कास्पद गतिविधि निगरानी र अनुगमनका लागि टोली परिचालित गरेको देखियो।
टिमका खेल पदाधिकारी र खेलाडीले कोसँग भेट्छन्, उनीहरूको गतिविधि कस्तो छ लगायतका पक्षको समेत मूल्याङ्कन र रिपोर्ट गर्ने जिम्मेवारी तोकिएको एक अधिकारीले बताए। प्रहरीको अनुगमन र निगरानीमा क्यानका केही खेल पदाधिकारीहरू समेत रहेको जानकार प्रहरी अधिकारीले उकेरालाई जानकारी दिए।
मंसिर १७, २०८१ सोमबार १९:०३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।