कोशीमा कांग्रेसको गुट छरपस्ट, शेखर कोइरालाको भेला रोक्न केन्द्रीय कार्यालयको सर्कुलर

कोशीमा कांग्रेसको गुट छरपस्ट, शेखर कोइरालाको भेला रोक्न केन्द्रीय कार्यालयको सर्कुलर

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको अग्रसरतामा विराटनगर र बेलबारीमा आयोजना हुन लागेको स्थानीय तहका सभापतिहरूको भेला नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले पत्र पठाएरै रोक्न निर्देशन दिएको छ।

कोइराला पक्षले कोशी प्रदेशको विराटनगर र बेलबारीमा मंसिर १७, १८ र १९ मा प्रदेश भित्रका स्थानीय तहका सभापतिहरूको भेला राखेका थिए। त्यस कार्यक्रममा सबै जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूलाई समेत डाकिएको थियो।

तर, २२ मा निर्धारित स्थानीय तहका सभापतिहरूको भेलाबाहेक अन्य कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशीका सबै जिल्ला सभापतिलाई पत्र पठाए।

पौडेलले सोमबार कोशी प्रदेशका जिल्ला सभापतिलाई पत्र पठाउँदै २२ मा अन्य कुनै पनि कार्यक्रम आयोजना नगरिएको भनेका छन्।
तर, कोइरालाको सचिवालयले भेला नरोकिएको र भव्य रुपमा सम्पन्न हुने बताए। 

‘पार्टीलाई चलायमान र सुद्दढ बनाउनका लागि भेला बोलाइएको हो। यसमा कुनै समूह वा गुटको प्रभाव छैन। स्वःस्फूर्त रुपमा भेलामा सहभागी हुन सकिन्छ। सबैलाई निम्ता पठाइसकेको छ,’ डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने।

कांग्रेस कोशी प्रदेशले पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा प्रदेश राजधानी विराटनगरमा सम्मेलन गर्ने निर्णय गरेको थियो। 

मंसिर १७, २०८१ सोमबार १३:२१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।