जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै

जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ। 

टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्‌विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरे।

एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्ससँग आत्मविश्वास छ। जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन्। टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन्।

उनीहरूसँगै स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन्। जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन्।

यता, हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले पनि राम्रो प्रदर्शन गर्ने आशा लिइएको छ। कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका छन्। उनी नेपालको तर्फबाट दुई पटक विश्वकप खेल्ने खेलाडी पनि हुन्।

सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन्। त्यस्तै, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी पनि टोलीमा छन्।

कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। जसमा भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद छन्। 

यसअघि आजै भएको खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो।  

मंसिर १७, २०८१ सोमबार १३:०४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।