स्थानीय तह उपनिर्वाचनमा जसपा नेपाललाई पनि जित्न सकेन रास्वपाले
काठमाडौं : हिजो भएको रिक्त ४४ पदको स्थानीय तह उपनिर्वाचनमा अब नतिजा आउन ६ स्थान मात्र बाँकी छ।
अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १८ स्थानमा जितेको छ। कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदूरपश्चिममा ५ पदमा विजयी भएका छन्।
अहिलेसम्म एमालेले ८ पदमा र माओवादीले ७ स्थानमा जितेका छन्।
माओवादीले मोरङको ग्रामथान गाउँपालिकामा नमोनारायण माझी र जाजरकोटको नलगाडको उपमेयरमा देवका लामिछानेलाई विजयी गराउन सफल भयो।
एमालेले दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर शाही र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी बुढालाई विजयी गरायो।
जसपा नेपालले नेपालले दुई पद जितिसकेको छ। तर, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने एउटा मात्र पद जित्यो। काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भइन्।
त्यसो त यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन। उसले धेरै ठाउँमा उम्मेदवारसमेत उठाएन। कीर्तिपुर नगरपालिकाको मेयरमा समेत रास्वपाको उम्मेदवार छैन।
उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको बचाउमा आन्दोलन गर्नुपर्ने भएकाले उम्मेदवार उठाउन पर्याप्त तयारी नपुगेको स्वीकार गरेका छन्।
एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले पनि जितेर एक/एक पद जितेका छन्।
मंसिर १७, २०८१ सोमबार १२:४२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।