केही दिनअघि मात्रै एकीकृत समाजवादी त्यागेर एमाले फर्किए, महाबु गाउँपालिकामा उपनिर्वाचन लडेर जिते पनि

केही दिनअघि मात्रै एकीकृत समाजवादी त्यागेर एमाले फर्किए, महाबु गाउँपालिकामा उपनिर्वाचन लडेर जिते पनि

सुर्खेत : महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। आइतबार भएको मतदानमा शाहीले नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरे।

शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी भएका हुन्। भण्डारीले दुई हजार ६७५ मत प्राप्त गरी पराजित भएका छन्। 

यस्तै, माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाशकुमार बुढाले ११२ मत प्राप्त गरे। कुल १२ हजार ६१४ मतदाता रहेको महाबुमा ६ हजार ९८९ मत खसेको थियो। 

यसअघि एकीकृत समाजवादीमा रहेका शाही कात्तिक २७ मा एमाले फर्किएका हुन्। 

एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका शाहीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिने शर्तमा एमालेले पार्टीमा भित्र्याइएको हो। त्यसबेला उनलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायतले एमालेमा स्वागत गरेका थिए। 

एमालेबाट २०७४ सालमा महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका शाहीले २०७९ को निर्वाचनमा चुनाव हारे, त्यसबेला उनी एकीकृत समाजवादीबाट उम्मेदवार बनेका थिए। 

गाउँपालिका नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष लक्ष्मण गुरूङको २०७९ माघ २७ मा निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।

मंसिर १७, २०८१ सोमबार ०९:४२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।