त्रिवि क्रिकेट मैदानमा आज शिखर धवनको खेल हेर्न पाउने छन् दर्शकले

त्रिवि क्रिकेट मैदानमा आज शिखर धवनको खेल हेर्न पाउने छन् दर्शकले

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा आज दुई खेल हुँदैछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ बजेदेखि सुरू हुनेछ।

यस्तै, दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो। जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो।

यी दुई टीमबीचको खेल दिउँसो १ः१५ बजे सुरू हुनेछ। 

आजको मुख्य आकर्षणमा कर्णाली याक्सबाट भारतका चर्चित खेलाडी शिखर धवन रहने छन्।

नेपाली क्रिकेटमा फ्यानकाबीचमा अन्य विदेशी क्रिकेटर पनि प्रिय नभएका हैनन्। तर, शिखर धवन बढी लोकप्रिय छन्।

राष्ट्रिय टोलीबाट सन्यास लिइसकेका धवनले खेल्न लागेको नेपाल प्रिमियर लिग भारतबाहिरको पहिलो लिग हो। सन्यासपछि उनले कुनै पनि लिग खेलेका थिएनन्।

धवनले प्रत्येक खेलबापत ३० हजार डलर पाउने भएका छन्। 

कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको छ। उनले कर्णाली याक्सबाट चार वटा खेल खेल्ने छन्। र, प्रत्येक खेलबाट ३० हजार डलर (नेपाली ४० लाख ५० रूपैँया) लिने याक्सका लगानीकर्ता गृहेन्द्र घिमिरेले बताए। 

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किङ्सबाट खेलेका छन्।

उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन्। उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए। त्यस्तै, भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन्।

धवन डिसेम्बर ९ तारिखमा फर्कने छन्।

मंसिर १७, २०८१ सोमबार ०९:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।