८७ सदस्यीय जम्बो टोली लिएर आज चीनको औपचारिक भ्रमणमा जाँदै छन् प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि जाँदै छन्।
चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उनी चीनको बेइजिङ जान लागेका हुन्। उनले २० सम्म चीनको औपचारिक भ्रमण गर्ने छन्।
भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसको साथै, ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ।
उनको पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने, बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।
त्यस्तै, नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत गरी रहने छन्। ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने छन्।
मंसिर १७, २०८१ सोमबार ०८:४०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।