स्थानीय तह उप निर्वाचन परिणाम : कांग्रेस-एमाले नै प्रतिस्पर्धी,पछ्याउँदै माओवादी

स्थानीय तह उप निर्वाचन परिणाम : कांग्रेस-एमाले नै प्रतिस्पर्धी,पछ्याउँदै माओवादी

काठमाडौँ : स्थानीय तहको उप निर्वाचनको मत परिणाम आउन थालेको छ। आइतबार राती आइरहेको मत परिणाममा सत्ताधारी दल एमाले र नेपाली कांग्रेसका उम्मेदवारबिच नै प्रतिस्पर्धी देखिए।

निर्वाचन आयोगका अनुसार गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भए।

उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरेका छन्। वडाध्यक्षमा कांग्रेसका श्रेष्ठ २ सय ५४ मतान्तरसहित विजयी भए।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु १ हजार ४३ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका सेर बहादुर थारुले ६ सय ७८ मत पाए।

एमालेका उम्मेदवार विष्णु प्रसाद देवकोटाले ३ सय ३७ मतसहित तेस्रो भए। २०७९ को स्थानीय तहको निर्वाचनमा यहाँ कांग्रेसका सूर्य बहादुर विष्ट १ हजार २ सय ९ मतसहित विजयी भएका थिए।

ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकी उम्मेदवार कुमारी साउदेन विजयी भइन्। उनी ३ सय ५३ मतसहित विजयी भइन्। कुमारी साउदेन अघिल्लो निर्वाचनमा कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मतले पराजित भएकी थिइन्।

उता  रौतहटको राजपुर नगरपालिका–६ मा कांग्रेसका उम्मेदवार ७ सय ४४ मतसहित समसे आलम निर्वाचित भए। माओवादी केन्द्रका जिकरुलाह ४ सय ६३ मतसहित दोस्रो भए। एमालेका मोहम्मद नसिम अख्तरले ४ सय ३१ मत प्राप्त गरे। यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसले नै जितेको थियो।

झापाको कनकाई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भए। चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनी ४ सय ९३ मतसहित विजयी भएका हुन्। नेपाली कांग्रेसका उनी बागी उम्मेदवार भएका थिए।

रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक ६ सय २७ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरेका थिए।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेका उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत पाए।

गोरखा नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर ४ सय ८६ मतसहित विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका भाइकाजी आले मगरले ४०२ मत पाए।

दैलेखको दुल्लु नगरपालिका-१३ मा एमालेका उम्मेदवार लाल बहादुर शाहीले ५ सय ७४ मत पाएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रेसमबहादुर शाहीले ५ सय ७१ मत पाए।

 डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा ४ सय ६८ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी बने एमालेका देव थापा। उनले ३ सय १ मत पाए।

उता जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भए। सिंहले ३४७ मत पाउँदा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३ सय ३२ मत पाए।

मंसिर १७, २०८१ सोमबार ०२:३७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।