EXCLUSIVE : एनपीएलको स्पन्सर अनलाइन जुवा खेलाउँदै; नेपालमै एजेन्ट, नेपालकै बैंकमा जम्मा हुन्छ जुवा खेल्ने पैसा
काठमाडौँ : २०८१ मंसिर १५ शनिवार। यो दिन नेपाली क्रिकेट इतिहासको एक महत्त्वपूर्ण क्षण थियो। तर, यही दृश्यमा एक अदृश्य खतरा समेत लुकेको खुल्यो।
वुल्फत्रिपलसेभेन, नेपालका लागि एक अनौठो ब्रान्ड। एनपीएलको खेल मैदानको मुख्य भागमा लिगको मुख्य प्रायोजक सिद्धार्थ बैङ्क अनि सपोर्टिभ पार्टनर एनसेलसँगै यसको ब्यानर राखिएको थियो।
प्रायोजकहरूको हैसियत अनुसार मैदानमा प्रचारका लागि स्थान दिइन्छ। यो अनौठो ब्रान्ड चार करोड दिने सिद्धार्थ बैङ्क अनि करिब दुई करोड दिएको एनसेलसँगै रहेकाले यसले पनि क्रिकेट एसोसिएसन अफ नेपाललाई राम्रै रकम दिएको देखिन्छ।
यति ठुलो रकम तिरेर नेपालमा विज्ञापन गर्ने कस्तो खालको समाचार पोर्टल रहेछ यो? हामीले हेर्यौँ। साइट हेर्नासाथ शङ्काजनक तथ्य देखियो।
यो साइटमा नौ महिनादेखि कुनै नयाँ समाचार पोस्ट भएको छैन। यसमा नेपाल क्रिकेट लिगको उद्घाटनबारे कुनै समाचार थिएन। अर्थात् एनपीएलको समाचार प्रकाशन र प्रसारणमा यसको पनि कुनै सरोकार देखिएन।
सन् २०२० मा यस्तै नाममा दर्ता भएको अर्को साइट भेटियो वुल्फत्रिपलसेभेनडटकम। यो खेल सम्बन्धी अनलाइनबाट जुवा खेलाउने कम्पनी हो। साइटमा यो कम्पनीबारे विस्तृत जानकारी कतै छैन। तर, यसको आकार प्रकार सबै त्रिवि क्रिकेट मैदानमा राखेको वुल्फत्रिपलसेभेनन्युजसँग मिल्छ।
यसले आफ्नो साइटको ब्यानरमै एनपीएलको ब्यानर राखेर प्रचार गरिरहेको छ। यति मात्रै हैन, यसले शनिवार त्रिवि क्रिकेट मैदानमा उद्घाटनमा भइरहेको विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको खेलबारे लाइभ बेटिङ गराइरहेको थियो। अनि सोमबार हुने काठमाडौँ गुर्खाज र चितवन राइनोजको खेलको बेटिङ समेत खुला गरिसकेको छ।
यसबाट क्यानका सचिव पारस खड्काको संयोजकत्वमा आयोजना गरिरहेको एनपीएलमा वुल्फत्रिपलसेभेनन्युको आवरणमा जुवा खेलाउने कम्पनी वुल्भत्रिपलसेभेन जुवा र सट्टाको प्रचारमा आएको पुष्टी हुन्छ।
जब यी प्रमाण फेला पर्यो, उकेराले नेपालमा यसको प्रभाव र सम्भावित एजेन्टको खोजी सुरु गर्यो। खोजीमा वुल्फत्रिपलसेभेनमा साइनअप गरेर सदस्य बन्न राखिएको ह्वाट्सएप अप्सनमा जाँदा सहजै वुल्फत्रिपलसेभेनको एजेन्ट सम्पर्कमा आए। नम्बर विदेशको देखियो, तर उनी नेपाली बोल्थे।
सामान्य जिज्ञासासँगै उनलाई प्रश्न गरियो 'तपाईँ नेपाली नै हो कि एआई हो?' उताबाट हल्का हाँसोसहित जवाफ आयो ‘नेपाली नै हो’।
यो वैध हो या हैन, एनपीएलमा कसरी जुवा खेल्न मिल्छ जस्ता प्रश्न सोध्दा उताबाट जवाफ आएन। कतै यो नक्कली कम्पनी पो हो कि या प्रहरीले पक्राउ गर्ने हो कि भन्ने प्रश्नको जवाफमा भने उताबाट उत्तर आयो, ‘त्यस्तो केही हुन्न, हाम्रो नेपालमा एजेन्ट छैन। जुवा त जहाँ नि खेल्छन् नि।’
कुराकानी अगाडी बढ्दै जाँदा उनले वुल्फको सहजै युजरनेम र पासवर्ड बनाएर पठाए। तर, पैसा तिरेर पोइन्ट किन्न साइटमा राखिएको पेमेन्टको विकल्प बिटक्वाइन लगायत थियो, नेपालको कुनै बैङ्किङ च्यानलको विकल्प थिएन।
जोसँग संवाद भइरहेको छ ती सक्कली हुन कि नक्कली! अनि नेपालबाट कसरी भुक्तानी हुन्छ जुवाको पैसाको? जुवा खेल्ने पैसा कताबाट हाल्ने? उनैलाई सोधियो।
उनले विकल्प दिए, ‘क्युआर कोड पठाउँछु, अकाउन्टमा पैसा जम्मा गरेको स्क्रिनसट पठाउनु, म यताबाट पोइन्ट राखिदिन्छु।’
अनि उनले क्युआर कोड पनि पठाए।
क्युआरकोड स्क्यान गरेर हेर्दा त्यो नेपालकै सानिमा बैङ्कको थियो, अनि बैङ्क खातावाला पनि नेपाली। शनिवार कुराकानी गर्दागर्दै निकै रात परेकाले संवाद यत्तिकै टुङ्गियो।
आइतबार बिहानै त्यही अकाउन्टमा पाँच सय रुपैयाँ जम्मा गरेर स्क्रिनसट पठाए लगत्तै रेस्पोन्स आयो ‘पख्नुस् है।’
उताबाट रकम अनुसार पाँच सय पोइन्ट जम्मा भएको मेसेज आयो। साइटमा गएर हेर्दा सानिमामा पठाएको पाँच सय बराबरको पाँच सय पोइन्ट वुल्फत्रिपलसेभेन डटकममा जम्मा भइसकेको थियो।
वुल्फत्रिपलसेभेनको प्रतिनिधिको रूपमा उकेरासँग कुरा गरिरहेकाले नेपालमा कुनै एजेन्ट नभएको दाबी गरे पनि नेपाली बैङ्कको खाता अनि नाम पनि नेपाली देखिएकाले नेपालमा वनएक्सबेटको जस्तै उसका एजेन्टहरू छैनन् भन्ने आधार रहेन।
त्यसमा पनि जुन देशबाट सदस्य बन्ने प्रयास गरेको हो, त्यही देशको व्यक्ति प्रयोग गरेकाले यो एनपीएलमा वुल्फत्रिपलसेभेन किन स्पन्सर भएको प्रस्ट भयो नै।
यसले नेपालको कानुनले प्रतिबन्ध लगाएको अनलाइन जुवा र बेटिङ खेलाउन वुल्फत्रिपलसेभेनले नेपालमा आफ्नो एजेन्टहरू परिचालन गरेर, नेपालको बैङ्कको खातामार्फत पैसा लिएर नेपालीहरूलाई अनलाइन जुवा खेलाइरहेको पुष्टि भयो। अनि नेपाल प्रिमियर लिगको आयोजकले पैसाको लोभमा मैदानको मुख्य भाग उनीहरूको कम्पनीको प्रचारमा दुरुपयोग गर्न दिएको थप पुष्टि पनि भयो।
नेपालको कानुनी व्यवस्था
नेपालको ‘जुवा ऐन २०२०’ अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनुपर्ने भनिएको छ। तर, नेपाल सरकारको अनुमति लिई आयोजना गरिएको कुनै सार्वजनिक चिट्ठा र मनोरञ्जनको लागि कुनै सार्वजनिक मेला वा प्रदर्शनीमा खेलिएको खेललाई नजनाउने उल्लेख गरिएको छ।
‘मुलुकी अपराध संहिता २०७४’को दफा १२५ मा पनि ‘जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नहुने’ प्रावधान छ। जसको उपदफा ४ मा सट्टाबाजी गर्नु वा गराउन नहुने भनिएको छ। त्यसलाई थप प्रस्ट पार्दै उपदफा ५ मा ‘कसैले कानुन बमोजिम खेल्न खेलाउन नहुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसुर गरेको मानिने’ उल्लेख छ।
जुवाको रूपमा जे परिभाषा गरिएको छ वुल्फत्रिपलसेभेनको काम मिल्छ। यसले नेपालमा जुवा प्रचार गर्न वास्तविक कम्पनीको नाम प्रयोग नगरी सरोगेट कम्पनीको प्रयोग गरेर गैर कानुनी काम गरिरहेको पुष्टी हुन्छ। अनि क्यानले पनि सरोगेट कम्पनी त हो नि भनेर जुवा प्रवर्धन गरिरहेको देखिन्छ।
वानएक्स बेटकै बाटोमा वुल्फत्रिपलसेभेन
नेपालमा कुनै समय अनलाइन जुवाको लत बसेकाहरूका लागि वानएक्सबेट अनजान नाम थियो। क्यान अनि एन्फाको आयोजनामा हुने खेल प्रतियोगितास्थलमा यसको ब्यानर जताततै देखिन थाल्यो। कतै वानएक्सब्याटको नाम देखिन्थ्यो त कतै वानएक्सन्युज। सबैको लोगोको आकार प्रकार भने जुवा खेलाउने वानएक्सबेटकै जस्तो थियो। त्यसपछि जुवामा लत नबसेकाहरूमाझ पनि यो परिचित भयो।
खेलमा रुचि राख्नेहरूमाझ यो चर्चित ब्रान्ड नै बन्यो। अनि सुरु भयो नेपालमा वानएक्सबेटको दुष्प्रभाव। अनि वानएक्सबेटका एकै एजेन्ट पक्राउ पर्दा उनले ५५ करोड रुपैयाँसम्मको कारोबार गरेको भेटिन थाल्यो। ९८ वटा बैङ्क खातामार्फत ५७ करोडसम्म कारोबार गर्ने गरेका प्रमाण फेला परे। यसको अनलाइन जुवाको जालो टोल-टोलसम्म फैलिइसकेको पुष्टि भयो।
अब वुल्फत्रिपलसेभेनको लक्ष्य पनि नेपालमा वानएक्सबेट जस्तै हुने देखियो, त्यो यिनै तथ्यले देखाउँछ। यसका लागि उसले एनपीएलको चर्चित मैदान छान्यो। यसमा सहयोगी भए क्रिकेटलाई माया गर्छु भन्ने पारस खड्का।
क्यान जुवा खेलाउने कम्पनीको प्रचारमा किन लागेको?
उकेराले क्यानका प्रवक्ता छुम्बी लामासँग यही जिज्ञासा राखेको थियो। छुम्बीले यो भन्दा अगाडि वानएक्सबेट ल्याउँदा खेलमै मिलेमतो देखिएपछि उसलाई नल्याएर नयाँ स्पन्सर ल्याएको तर्क गरे। तर उनले वुल्फत्रिपलसेभेनन्युज जुवा खेलाउने वुल्फत्रिपलसेभेनको सरोगेट कम्पनी रहेको लुकाएनन्। यसले क्यान नेतृत्व कस्तो कम्पनीलाई स्पोन्सर गराउँदै छन् भन्नेमा पूर्व जानकारै देखिए।
छुम्बीले वानएक्सबेटले नेपालमा हुने खेल मिलेमतो गरेकाले उसँग सहकार्य नगरेको भनेर सरोगेट कम्पनीको नाममा आएका जुवा खेलाउने कम्पनीले नेपालमा के गर्छन् आफैँले पुष्टि गरे। उकेराले वुल्फत्रिपलसेभेनको गतिविधि हेर्दा पनि यो वानएक्सबेट भन्दा फरक देखिएन। अर्थात् एनपीएलमा पनि खेल मिलेमतो हुने जोखिम उस्तै नै छ।
प्रहरी लाचार कि मिलेको?
जुवाबारे नेपालको कानुन स्पष्ट छ, पूर्ण प्रतिबन्धित। तर, नियमन निकायहरूको कमजोरी वा मिलेमतोले यस्ता कम्पनीहरूले सहजै नेपालमा प्रभाव बढाइरहेका छन्। खेल संस्थाहरू केही रकममा लोभिँदा उनीहरूलाई नेपालको टोलटोलमा फैलन सघाइरहेका छन्।
नेपाल कानुनले कुनै प्रकारको जुवा खेल्न, खेलाउन अनि प्रोत्साहित गर्न अनुमति दिँदैन। शून्य सहनशीलता हो यसमा। जसरी मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा कति खाएमा वैध अनि कति खाएमा दण्डनीय भन्ने कानुन छैन, जुवामा पनि यस्तै हो।
तर, नेपालमा आयोजना हुने क्रिकेट अनि फुटबलका राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खेलमार्फत नेपालीमाझ अनलाइन जुवा खेलाउने कम्पनीहरू सहजै घुस्दै गएका छन्। तै पनि प्रहरी सङ्गठन नियन्त्रणमा सक्रिय देखिन्न। जब समस्या विकराल बन्छ अनि मात्र तात्ने गरेको देखिन्छ।
प्रहरी सक्रिय हुँदासम्म अपराधको मात्रा नियन्त्रण गर्न निकै कठिन चरणमा पुगिसकेको हुन्छ। वानएक्सबेट अहिले त्यही चरणमा देखिन्छ नेपालमा। बेलैमा नियन्त्रण नगर्ने हो भने वुल्फत्रिपलसेभेनको अवस्था पनि वानएक्सबेट जस्तै हुने देखिन्छ।
एनपीएलको मैदानमा जुवा खेलाउने अन्तर्राष्ट्रिय कम्पनी स्पन्सर भएको र उसको प्रचार भइरहेकोबारे प्रहरी जानकार देखियो। तर, दशैँ-तिहारमा परिवारका सदस्य घरमा बसेर रमाइलो गर्न तास खेल्दा छापा हानेर समात्ने उनीहरू टीयू मैदानमा भइरहेको जुवाको प्रचार रोक्न सक्रिय देखिएनन्।
किन?
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जुवा खेलाउने यस्ता कम्पनीहरू नेपालमा धेरै आएको देखिएको बताउँदै यसबारे अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको बताए। यस अगाडि पनि अरू नाम गरेका यस्तै कम्पनी आएको र यसबारे पनि प्रहरी गम्भीर रहेको उनको दाबी थियो।
सीआईबीका प्रमुख एआईजी दीपक थापाले कुनै पनि आवरणमा हुने अपराध नियन्त्रणका लागि प्रहरी गम्भीर रहेको र एनपीएलको नाममा हुनसक्ने जस्तोसुकै अपराध नियन्त्रण गर्न सीआईबी सक्रिय रहेको बताए।
‘हामी सचेत छौँ र यसबारे हेरिरहेका पनि छौँ’, उनले उकेरासँग भने।
क्रिकेटले नै फैलाइरहेको छ अनलाइन जुवा
नेपालको खेलमा वानएक्सबेटले प्रारम्भमा क्रिकेटबाटै आफ्नो प्रचार सुरु गरेको देखिन्छ। सन् २००७ मा स्थापित यो जुवा खेलाउने कम्पनीले अनलाइन जुवा वैध भएको देशमा वानएक्सबेटकै नाममा प्रचार गर्छ।
नेपाल अनि भारत जस्ता अनलाइन जुवा प्रतिबन्धित देशमा यिनीहरूले उस्तै लोगो र नाम गरेको सरोगेट कम्पनी खोलेर प्रचार गर्छ।
वानएक्सबेटले नेपालमा न्युज पोर्टलको आवरणमा आफ्नो प्रचार फैलाएको थियो। प्रारम्भमा उसले वानएक्सबेटको प्रचार गर्न क्रिकेट सम्बन्धी वानएक्सब्याट नामक कम्पनीबाट प्रचार गर्यो। त्रिवि क्रिकेट मैदानमा भएका धेरै क्रिकेट प्रतियोगितामा वानएक्सब्याट मिडिया पार्टनरको रूपमा संलग्न रह्यो।
जब वानएक्सब्याट बदनाम भयो अनि कम्पनी वनएक्सन्युजतिर लाग्यो। नेपालमा वानएक्सबेटको प्रभाव थामिनसक्नु भएसँगै प्रहरी पक्राउमा लागेपछि सार्वजनिक रूपमा यस्ता प्रतियोगितामा मिडिया पार्टनरको रूपमा देखिन छाडेका थिए।
दोस्रोमा देखियो डाफाबेट। यो पनि अनलाइन जुवा खेलाउने कम्पनी नै हो। नेपाल जस्ता सबै प्रकारका जुवा खेल्न र खेलाउन प्रतिबन्ध लागेको देशमा यसले कम्पनीको प्रभाव बढाउन डाफान्युजको सहारा लिने गरेको छ। खेल प्रतियोगितामा मिडिया पार्टनर बन्छ यो पनि। नेपालमा डाफाको प्रभाव वानएक्सबेटको जस्तो बलियो देखिएन।
अब एनपीएलको चर्चासँगै तेस्रो जुवा खेलाउने कम्पनी वुल्फत्रिपलसेभेन नेपाल भित्रियो, यसलाई वुल्फत्रिपलसेभेनन्युको नाममा नेपाल ल्याउने काम गरे पारस खड्काले।
प्राय यस्ता कम्पनीहरू मिडिया पार्टनरको रूपमा खेलमा संलग्न हुने गर्छन्। तर, उनीहरूको वेभ पोर्टलमा गएर हेर्ने हो भने प्रतियोगिता सम्बन्धी केही हुन्न। वुल्फत्रिपलसेभेनन्युमा गएर हेर्ने हो भने पनि एनपीएलको कुनै समाचार छैन।
अनलाइन जुवा खेलाउने कम्पनीको पहिलो लक्ष्य मिडिया पार्टनरको आवरणमा प्रतियोगिताको लाइभ इभेन्ट र डेटामा सहज पहुँच पुर्याएर त्यसलाई बाजी लगाउन प्रयोग गर्ने हो। वुल्फत्रिपलसेभेनले शनिवार यस्तै गरेको थियो।
उनीहरूको अर्को लक्ष्य खेलप्रेमीमाझ आफ्नो नाम परिचित गराएर उनीहरूलाई अनलाइन जुवा खेल्न प्रोत्साहित गर्ने हो।
अनलाइन जुवा, सट्टाबाजी हुँदै गेम फिक्सिङसम्मको चरणमा पुग्ने यस्ता कम्पनीको निश्चित उद्देश्य नै युवामाझ चाँडै लोकप्रिय हुने माध्यमसँग सहकार्य गर्ने र जुवाको लत फैलाउने नै देखिन्छ। जब ब्रान्ड लोकप्रिय हुन्छ, अनि स्थानीय एजेन्टहरू बढ्छन्। एनपीएल अगाडि नामै नसुनिएको वुल्फत्रिपलसेभेनले यसैगरि नेपाली एजेन्ट निर्माण गरेको त उकेराले फेला पारेको प्रमाणले नै पुष्टि गर्छ।
यसमा सीमित आर्थिक फाइदामा लोभिएर क्यान अनि एन्फा जस्ता जिम्मेवार संस्थाका पदाधिकारीहरू नै जानाजान खेलमा जुवा प्रवर्द्धनमा सहयोगी बनिरहेका छन्। पहिला खेलमार्फत वानएक्सबेटको प्रवर्द्धन गरेको क्यानले अब एनपीएल जस्तो लोकप्रिय प्लेटफर्मबाट अर्को जुवा खेलाउने कम्पनी ओल्फत्रिपलसेभेनको प्रचार गरिरहेको छ।
क्यानले नै गैरकानुनी काम गरेपछि लिगको फ्रेन्चाइज टिम पनि के कम। क्यानकै आड पाएर फ्रेन्चाइज टिम विराटनगर किंग्सले विजेस्पोर्ट्सको आवरणमा अनलाइन जुवा खेलाउने बीजे८८ लाई मुख्य प्रायोजक बनाएर जर्सीको पछाडि उसको लोगोसहित प्रचार गरिरहेको छ।
क्यान अनि एन्फाले आइसिसी अनि फिफाको नियम देखाएर, यस्ता जुवा खेलाउने कम्पनी भित्रिएको छद्म नाम देखाएर आफ्नो बदमासीको बचाउ गर्ने प्रयास गर्छन्। क्रिकेट अनि फुटबलका अन्तर्राष्ट्रिय संस्थाहरूले खेलमा आधारित रहेर हुने अनलाइन जुवा, सट्टा लगायतमा संलग्न कम्पनीमाथि प्रतिबन्ध नलगाएको सत्य हो।
आइसिसी अनि एएफसीको सदस्य राष्ट्रहरूमध्ये केहीमा अनलाइन जुवा वैध छन्। नेपाल, भारत जस्ता केही देशमा प्रतिबन्धित छ। उसले सदस्य रहेको देशको कानुन हेरेर भन्दा पनि अन्तर्राष्ट्रिय रूपमा सबै सदस्य राष्ट्रको कानुन हेरेर निर्णय गर्ने हो। यो भनेको अनलाइन जुवा अनि सट्टेबाजी प्रतिबन्धित भएको देशमा पनि यो कानुनी भन्ने हैन।
प्रतियोगिता जहाँ हुने हो, त्यहाँ त्यही देशको लागु हुन्छ। एनपीएल नेपालमा भइरहेको खेल हो। यसको आयोजक नेपाली कानुन अनुसार दर्ता भएको क्यान हो। त्यसैले यसलाई अन्तर्राष्ट्रिय हैन नेपालको कानुन लाग्छ नै।
नेपालको कानुनले कुनै पनि प्रकारको जुवालाई अनुमति दिँदैन। तर, नियमन निकायको कमजोरीमा खेल्दै क्यान र एन्फाले संघको नाममा हुने प्रतियोगितामा वाएन्सबेट, डाफाबेटका सरोगेट कम्पनी ल्याएर अनलाइन जुवाको प्रचार र प्रवर्द्धन गरिरहे, गरिरहेका छन्।
यसको दुष्प्रभाव पनि नदेखिएको हैन। गत वर्ष भएको ‘नेपाल टी-२० लिग’ म्याच फिक्सिङको चरणसम्मै पुग्यो। सीआईबीले अनुसन्धान गरेर खेलाडीलाई नै पक्राउ गर्यो।
यस पटक पारसले पनि एनपीएलमा वुल्फत्रिपलसेफेन नामक जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनी भित्र्याएर एनपीएललाई म्याच फिक्सिङको जोखिमतिर धकेलेका छन्।
किनकि म्याच फिक्सिङको प्रारम्भिक चरण सामान्य अनुमानबाट सुरु हुँदै बढ्ने जुवाको रकमको आधारमा आफू जित्न खेल नै मिलेमतो गराउने चरणसम्म पुग्ने नै हो।
यस्तो जोखिम देख्दा-देख्दै क्रिकेट बुझेका पारस खड्का नै अनलाइन जुवा खेलाउने कम्पनीलाई नेपालमा प्रवर्द्धन गर्न संलग्न देखिनु निकै घिनलाग्दो दृश्य हो। जुन हामीले एनपीएलभरी टीयू क्रिकेट मैदानमा देखिरहने छौँ।
मंसिर १७, २०८१ सोमबार ०५:५४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।