फ्रान्सको राजदूतमा ट्रम्पले नियुक्त गरे आफ्नै सम्धी
एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्धी चार्ल्स कुसनरलाई फ्रान्सका लागि राजदूतमा नियुक्त गरेका छन्।
चार्ल्स कुशनर ट्रम्पकी छोरी इभान्का ट्रम्पका पति जेरेड कुशनरका पिता हुन्। सन् २०२० मा डोनाल्ड ट्रम्पले चार्ल्स कुसनरलाई अमेरिकी सरकारले दिएको सजायबाट माफी दिएका थिए।
सामाजिक सञ्जाल साइट ट्रुथ सोशलमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘कुसनर एक उत्कृष्ट व्यापारिक नेता र सम्झौताकर्ता हुन् जसले हाम्रो देश र यसको हितका लागि बलियो प्रतिनिधि साबित हुनेछन्।’
दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि उनले प्रशासनको महत्वपूर्ण पदका लागि आफन्तलाई रोजेको मानिन्छ।
चार्ल्स कुशनर रियल स्टेट डेभलपर हुन्। फ्रान्सका लागि राजदूतका रूपमा कुसनरको नाम घोषणा गर्दै ट्रम्पले कुशनरसँग काम गर्न पाउँदा उत्साहित भएको बताए।
ट्रम्पले भने, ‘हामी सँगै मिलेर हाम्रो सबैभन्दा पुरानो मित्र र हाम्रो सबैभन्दा ठूलो सहयोगीमध्येको एक फ्रान्ससँग अमेरिकाको साझेदारीलाई सुदृढ गर्नेछौँ।’
मंसिर १६, २०८१ आइतबार १९:४३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।